झापा । बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाबीच तीव्र भनाभन भएको एक भिडियो सार्वजनिक भएको छ। बुधबार नगरपालिकामा आयोजित न्यायिक समितिको बैठकका क्रममा दुई जनप्रतिनिधिबीच जम्काभेट हुँदा विवाद चुलिएको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार वडाध्यक्ष कार्की केही युवाहरूसहित बैठक कक्षमा प्रवेश गर्दै उपप्रमुख संग्रौलासँग सामाजिक सञ्जालमा गरिएको टिप्पणीको विषयमा जिब्रो खचखच पार्दै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए। स्थिति हात हालाहालसम्म पुग्नै लाग्दा नगरका अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले विवादलाई तत्काल साम्य पारेका थिए।

विवादको केन्द्रमा एक सामाजिक सञ्जाल पोस्टमाथिको प्रतिक्रिया रहेको छ। एक नागरिकले स्टाटसमार्फत बिर्तामोड–८ का जनप्रतिनिधिहरु नगरपालिकाको बोर्ड बैठकमा किन अनुपस्थित छन् भन्ने प्रश्न उठाएका थिए। सोही स्टाटसमा उपप्रमुख संग्रौलाले “नेपाली नागरिकता बेचेर खाने, जेल हाल्नु पर्ने मानिस अदालतले फैसला अड्काउने, पुनः निर्वाचन लड्न अवसर दिने, राष्ट्रद्रोही मानिसलाई अझै पनि भोट हाल्नु पर्छ” भन्ने कडा अभिव्यक्ति दिएका थिए।

वडाध्यक्ष कार्कीले आफूलाई लक्षित गरी सार्वजनिक रूपमै अपमानजनक टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। संग्रौलाले भने त्यसप्रतिकारमा स्पष्ट पार्दै “नागरिकताको विषय नयाँ होइन, सर्वोच्चमा विचाराधीन छ। ममाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो। टिप्पणी कसैलाई व्यक्तिगत रूपमै लक्षित थिएन,” भन्दै आफ्नो भनाइ राखेका छन्।

उपप्रमुख संग्रौलाले वडाध्यक्ष कार्की युवाहरूको समूहसहित आक्रामक शैलीमा प्रवेश गरेको र आफूलाई लक्षित गर्दै शारीरिक आक्रमण गर्न खोजेको दाबी गरेका छन्। उनले आफ्नो सुरक्षाको लागि सुरक्षा निकायलाई जानकारी गराइएको बताएका छन्।

यस घटनाले बिर्तामोड नगरपालिकामा देखिएको आन्तरिक असमझदारी र द्वन्द्वलाई सतहमा ल्याएको छ। जनप्रतिनिधिहरूले सार्वजनिक मंच तथा सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदा संयम र जिम्मेवारीपूर्ण ढंग अपनाउनु पर्ने विषयमा समेत बहस सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0