CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले प्रदेशको नाम परिमार्जन गर्ने निर्णय गरेको छ । प्रदेशको आधिकारिक कागजात, लेटरहेड, बोर्डलगायत संरचनामा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको हो । यसअघि ‘प्रदेश सरकार,कोशी प्रदेश विराटनगर’ लेखिँदै आएको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले नाम परिमार्जन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

‘त्यो (नाम) प्रदेशसभाले पास गरेको ऐन बमोजिम ठ्याक्कै मिल्ने गरी नदेखिएको हुँदा यसमा केही संशोधन जरुरी भएकाले अबदेखि कोशी प्रदेश सरकार विराटनगर नेपाल नामाङ्करण गर्नेगरी निर्णय भएको छ,’ उनले भने, ‘ हाम्रा सबै लेटरहेड र साइनबोर्डमा राख्नेगरी भइरहेको नाम थोरै परिवर्तन गर्ने निर्णय भयो ।’

बैठकले कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसर पारेर लागु गर्ने गरी भाषा सम्बन्धि कानुन निर्माण गर्ने निर्णय गरेको छ । ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको मन्त्री भण्डारीले जानकारी दिए ।

भाषा आयोगले कोशी प्रदेशमा लिम्बु र मैथिली भाषालाई कामकाजको भाषा बनाउन प्रदेश सरकारलाई निर्देशन दिएको थियो । सोही अनुसार सरकारले विधेयक तयार गरेको हो । कोशी प्रदेशमा प्रतिपक्षी दलका सांसदहरुले भाषा सम्बन्धी विधेयक दर्ता गरेको थियो । तर त्यो विधेयक अघि बढेको छैन । सरकारले प्रतिपक्षीको विधेयकलाई छाडेर छुट्टै विधेयक ल्याएको हो ।
विधेयक पारित भएपछि प्रदेशमा नेपाली भाषाका अतिरिक्त लिम्बु भाषा र मैथिली भाषाले पनि सरकारी कामकाजको मान्यता पाउनेछन् । महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर आगामी कात्तिक २५ गतेबाट उक्त कानुन कार्यान्वयनमा जाने मन्त्री भण्डारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0