शिवसताक्षी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले योग, ध्यान र साधनाले मानिसको मानसिक स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर १० माइधार स्थित ओशो मधुवन ध्यानयोग आश्रमको प्रथम वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आधुनिक जीवनशैली र मानसिक दबाबका कारण डिप्रेसन, चिन्ता (एनजाइटी) जस्ता समस्या बढिरहेको अवस्थामा ध्यान र योग प्रभावकारी समाधान बन्न सक्ने उल्लेख गर्नुभयो ।

उहाँले ध्यान र योग विद्या विद्यालय तहदेखि सिकाउनुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “बाल्यकालदेखि नै योग, ध्यान र आचरणको अभ्यास गराउने हो भने भविष्यमा बालबालिकामा देखिने मानसिक समस्या न्यूनीकरण हुनेछन्”
सभामा मुख्यमन्त्री कार्कीले ओशो मधुवन ध्यानयोग आश्रमको भवन निर्माणका लागि प्रदेश सरकारले केही रकम विनियाजन गरेको र थप सहयोगका लागि पहल गर्ने आश्वासन पनि दिनुभयो ।
ओशो मधुवन ध्यानयोग आश्रमका अध्यक्ष गणेश प्रसाद बरालले आश्रमले २०७४ सालमा स्थापना भएदेखि नै ध्यान, योग र साधना प्रवद्र्धनमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनु भयो ।

वि.स. २०८० सम्ममा आश्रमले हलसहित दुईवटा काठा निर्माण गरिसकेको छ। उक्त निर्माणमा हालसम्म २३ लाख ३ हजार २२२ रुपैयाँ खर्च भएको ओशो मधुवन ध्यानयोग आश्रमले जनाएको छ ।
जसमा १ लाख ८ हजार १२२ रुपैयाँ संन्यासीहरूबाट संकलन गरिएको छ भने बाँकी २१ लाख ९५ हजार रुपैयाँ अध्यक्ष बरालले व्यक्तिगत रूपमा आफुले लगानी जानकारी दिनुभयो ।
उहाँले आश्रमलाई १ कठ्ठा १३ धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ। साथै, स्थानीय नरमाया घिमिरेले पनि १ कठ्ठा जग्गा आश्रमलाई दान गर्नुभएको हो। दुवै जग्गाको हालको बजार मूल्य करोड रुपैयाँभन्दा बढी रहेको आश्रमले जनाएको छ।

ध्यानको माग बढ्दै गइरहेको सन्दर्भमा आश्रमले २०८० सालदेखि नयाँ भवनको निर्माण थालेको छ । तीनतले भवनको माथिल्लो तलामा मन्दिरको आकृतिमा जस्ताको छाना बनाइने साधारण सभामा जानकारी दिइएको थियो ।
कार्यक्रममा कोशी प्रदेशकी माननीय सांसद मिना श्रेष्ठ, पूर्व प्रदेशमन्त्री भक्ती सिटौला, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कोशी प्रदेश प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन ओशो मधुवन ध्यानयोग आश्रमका सचिव गोपाल प्रसाईंले गर्नुभएको थियो ।












