पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुमा दाजुबहिनी मृत अवस्थामा फेला परेका छन्।
स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिरुवा खोलामा मृत फेला परेका हुन्।
शुक्रबार बिहानदेखि सम्पर्कविहीन रहेका उनीहरूलाई परिवारले खोजी गरिरहेको थियो। हजुरबा र हजुरआमासँग बस्दै आएका बालबालिका साउन १४ गते साँझ बुबा बस्ने घर गएका थिए। तर, बुबा घरमा नभेटिएपछि उनीहरू छिमेकीको घरमा बसेका थिए।
साउन १५ गते बिहान हजुरबा–हजुरआमासँग बस्ने घर फर्कने भन्दै निस्किएका उनीहरू त्यसयता बेपत्ता थिए।
बेपत्ता भएको खबर पाएपछि प्रहरी चौकी च्याङथापु र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोली तथा स्थानीयवासीले संयुक्त रूपमा खोजी गरेका थिए।
मंगलबार बिरुवा खोलामा उनीहरूको शव फेला परेको हो। प्रारम्भिक अनुमानअनुसार खोलाले बगाएर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
हाल शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।












