सुनसरी ।  नेपाल कानून व्यवसायी परिषदको ३२औं स्थापना दिवसका अवसरमा इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सर्वोच्च अदालतका माननीय न्यायाधीश बालकृष्ण ढकालले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उद्घाटनका क्रममा प्रमुख अतिथि समेत रहनु भएका ढकालले बोल्दै कानून व्यवसायीको परीक्षा, रेकर्ड व्यवस्थापन, क्षमता विकासका कार्यक्रम, आचारसंहिता कार्यान्वयनजस्ता परिषदका कार्यलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो। उहाँले वकालत पेशालाई नैतिकवान र मर्यादित बनाउन अध्ययन–अनुसन्धान समिति गठन गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानूनी ज्ञानका लागि वैदेशिक भ्रमणमा अवसर दिलाउन विभिन्न मुलुकसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उच्च अदालतका माननीय मुख्य न्यायाधीश राजन प्रसाद भट्टराई, मोरङ र सुनसरीका जिल्ला न्यायाधीश, प्रदेश मुख्य न्यायाधीवक्ता, कोशी प्रदेशका १४ जिल्लाका बार अध्यक्ष, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति थियो। वरिष्ठ अधिवक्ता सिताराम राई, मोरङ बार अध्यक्ष हरिशंकर मण्डल, उच्च अदालत बार विराटनगर अध्यक्ष विश्व राम भट्टराई, इनरुवा नगरपालिका मेयर केदार भण्डारी, झापा बार अध्यक्ष वसन्त नेपाललगायतले कानुन व्यवसायको महत्व, चुनौती र अवसरबारे धारणा राखे।

कार्यक्रममा आधा शताब्दीभन्दा बढी कानूनी सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ अधिवक्ता योगेन्द्र न्यौपाने, उमेश चन्द्र न्यौपाने, अधिवक्ता देवि बहादुर घिमिरे, पूर्व पार्षद एवं वरिष्ठ अधिवक्ता माधव भट्टराई, रमेश कोइराला, भरत बहादुर थापा, प्रकाश बाबु पन्त र उद्धव चन्द्र घिमिरेलाई सम्मान गरिएको थियो।

नेपाल कानून व्यवसायी परिषद २०५० सालको नेपाल कानून व्यवसायी परिषद ऐनअन्तर्गत स्थापना भई २०५१ साल साउन २७ गतेदेखि पूर्णरूपमा लागू भएको हो। परिषदको अध्यक्ष महान्यायाधिवक्ता र उपाध्यक्ष नेपाल बार एसोसिएसनका अध्यक्ष रहने प्रावधान छ। परिषदले वकालत पेशामा प्रवेशका लागि परीक्षा लिने, नाम दर्ता गर्ने र आचारसंहिता लागु गर्ने कार्य गर्दै आएको छ।

परिषदको रेकर्डअनुसार हालसम्म २१,५४० जनाले प्रमाणपत्र प्राप्त गरेका छन्, जसमा ४,२०० महिला कानून व्यवसायी छन्। कार्यक्रममा झापा बारकी सहसचिव एवं महिला समिति अध्यक्ष सानु कार्की बस्नेत ‘सिता’ले वकालत पेशामा प्रवेश गरेका महिला कानून व्यवसायीको हकहित, अधिकार र सम्मानका लागि क्षमता विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै महिला कानून व्यवसायीहरूलाई संगठित भई आफ्नो आवाज बुलन्द पार्न आह्वान गर्नुभयो।

कोशी प्रदेशका पार्षद राजु ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अधिवक्ता रमेश पोखरेलको गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0