शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ८ स्थित सम्झना चोकको ओसिस बोर्डिङ स्कुलमा आयोजित कार्यक्रममा फर्किएका आप्रवासी, सम्भावित आप्रवासी युवा, विद्यार्थीका अभिभावक तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीलाई स्वदेशमै स्वरोजगारमुखी कार्यमा संलग्न हुन प्रेरित गर्नुका साथै वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप सिकेर दक्ष जनशक्ति बन्न तथा नेपाल सरकारले तोकेका मापदण्ड पालना गर्दै सुरक्षित रूपमा विदेशिन प्रोत्साहित गरिएको थियो।

सामाजिक परिचालक चिरञ्जीवी लुइटेलका अनुसार, अभिमुखीकरणमा वैदेशिक रोजगारी प्रस्थानपूर्व अपनाउनुपर्ने तयारी, विदेशमा रहँदा सुरक्षा सावधानी र स्वदेशमै रोजगारी सिर्जना गर्ने अवसरहरूबारे विस्तृत जानकारी दिइयो। कार्यक्रममा वडा नं. ७ का परियोजना सल्लाहकार समिति सदस्य लेखनाथज्यूको अध्यक्षता तथा रोजगार संयोजक विदुर तिम्सिनाको सहजीकरण रहेको थियो।
कार्यक्रममा वडा नं. ७ का परियोजना सल्लाहकार समिति सदस्य घनश्याम अधिकारी, सामाजिक व्यक्तित्व लोकेन्द्र शिवकोटी लगायतको उपस्थिति थियो। करिब ६० जनाको सहभागिता रहेको कार्यक्रम सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनमा केन्द्रित रहेको आयोजकले जनाएको छ।













