शिवसताक्षी । झापाको शिवसताक्षी–११ मा रहेको श्री सताक्षी गुरुकुलले दलित समुदायलाई समेत संस्कृत शिक्षा दिने ऐतिहासिक पहल गरेको छ ।
हाल गुरुकुलमा ३९ बटुक अध्ययनरत छन्, जसमा दुई जना दलित हुन् । ब्राह्मण समुदायकै वर्चस्व मानिने संस्कृत शिक्षामा सबैलाई समान अवसर दिनु गुरुकुलको मूल उद्देश्य हो । प्रधुम्न शरण रसाइली र ऋषिकेश लोहार जस्ता विद्यार्थीहरूले यहाँ विभेदविना संस्कृत व्याकरणदेखि कर्मकाण्डसम्म सिकिरहेका छन् ।
गुरुकुलले व्रतबन्ध गरेका दलित विद्यार्थीलाई समेत समान व्यवहार गरेको छ । प्राचार्य मदनमोहन अधिकारीका अनुसार बटुकहरूले पूजा–पाठ, श्राद्ध, कुण्डली जस्ता सीप सिकेका छन् र दलित विद्यार्थीहरूले पनि यजमानका घरमा पूजा गरेर जीविकोपार्जन सुरु गरेका छन् । आचार्य नन्दकिशोरजी महाराजले गुरुकुलको दर्शन नै “जात विभेदको अन्त्य” रहेको बताए ।
झापाको मेचीनगरमा रहेको महेश्वर शुरेश्वर मातृ छायाँ गुरुकुलमा समेतमा १३ दलित विद्यार्थीहरू अध्ययनरत छन् । जुन कुल अध्ययरत विद्यार्थीहरुमा दलित समुदायका ३१ प्रतिशत हुन् । यी उदाहरणहरूले संस्कृत शिक्षा जातीय समानता र सामाजिक न्यायको अभियान बन्न सक्ने देखाएका छन् ।