भद्रपुर । देशको पूर्वी नाका झापाको काँकरभिट्टा नाकाबाट चालु आर्थिक वर्ष ०८१–०८२ को पहिलो ६ महिनामा ९ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा काँकरभिट्टा नाका भएर ९ अर्ब २५ करोड ४२ लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ५३ हजार ९२५ किलोलिटर पेट्रोलियम पदार्थ आयात गरिएको हो। यसबाट कार्यालयले ४ अर्ब ४९ करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व असुली गरेको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिनुभयो। मेची भन्सारको कुल राजस्व संकलनमा आयाततर्फ सबैभन्दा बढी पेट्रोलियम पदार्थको ५९.८३ प्रतिशत योगदान रहेको कँडेलले बताउनुभयो।
त्यस्तै, १ अर्ब ५८ करोड ६६ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको तरकारी ९लसुनसमेत० आयातबाट ३७ करोड ७३ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कुल राजस्व संकलनमा तरकारी दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा सवारी साधन र तिनका पाटपूर्जा आयातको योगदान रहेको कँडेलले जानकारी दिनुभयो। सवारी साधन र तिनका पाटपूर्जा आयातबाट कार्यालयले २२ करोड ५५ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।











