हल्दीबारी। हल्दीबारी गाउँपालिकाले शुक्रबार वडा नं. १ गोलधाप बजार क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा करिब ३० वटा पसलहरूको निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा केही खाद्यान्न पसलमा अखाद्य वस्तु बिक्री वितरण भइरहेको फेला परेपछि तत्कालै नष्ट गरिएको गाउँपालिकाले जनाएको छ। उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रको नेतृत्वमा पुगेको टोलीले आवश्यक कागजात जाँच गर्नुका साथै सुधारका लागि पत्र समेत व्यवसायीलाई बुझाएको हो।
प्रमुख प्रशासकीय अधिकृत वन महेन्द्रका अनुसार उपभोक्ताको अधिकार सुरक्षित गर्न र बजारलाई व्यवस्थित बनाउन अनुगमनलाई थप कडाइका साथ अघि बढाइएको हो। उनका अनुसार छिट्टै गोलधापका अन्य पसलहरूमा पनि अनुगमन गरिनेछ।
व्यवसायीहरूले बिना अनुमति अखाद्य सामग्री, औषधि तथा अन्य सामान बिक्री वितरण गरेको गुनासो बढेपछि कडाइका साथ कारबाही गरिएको हो। सार्वजनिक सूचना दिँदै अनुगमन हुने जानकारी गराइएकै अवस्थामा समेत व्यापारीहरूले अटेर गर्दै अखाद्य वस्तु बिक्री गरेको फेला परेको पालिकाले जनाएको छ।
यसै क्रममा मूल्यसूची, होल्डिङ बोर्ड, बिल–रसिद र आवश्यक कागजात राख्न अनिवार्य गरिएको छ। प्रक्रिया पूरा नगरेका पसललाई तीन दिनभित्र वडा कार्यालयमा कागजात बुझाउन निर्देशन दिइएको छ।
अनुगमन टोलीमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल विभाग, हल्दीबारी उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, गाउँपालिका शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो। तर, दुई घण्टा लामो अनुगमनमा बजारमै रहेको गोलधाप प्रहरी चौकीका प्रतिनिधि अनुपस्थित रहनु स्थानीयका लागि असन्तोषको विषय बनेको छ।
गोलधापबासीले प्रहरीको अनुपस्थितिले सुरक्षा सुनिश्चितताप्रति प्रश्न खडा भएको भन्दै तत्कालै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन माग गरेका छन्।













