जनकपुरधाम । धनुषाको जनकपुरधाममा उत्पन्न तनावपूर्ण अवस्थाबीच आइतबार प्रहरी र स्थानीय हिन्दु समुदायबीच झडप भएको छ। झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागी एक युवक गम्भीर घाइते भएका छन्।

धनुषा प्रहरीले दिएको जानकारीअनुसार जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका २९ वर्षीय लक्ष्मण मुखियाको दुवै घुँडामा गोली लागेको छ। मुखियाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

त्यसैगरी घटनामा सात जना प्रहरी र केही सर्वसाधारण समेत घाइते भएका छन्। घाइते प्रहरीहरूलाई पनि प्रादेशिक अस्पतालमै भर्ना गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

विवादको सुरुवात हिजो झण्डाचोकमा भएको थियो, जहाँ टावरलाइट जडान भएको पोलमा राखिएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो। सो क्रममा प्रहरीले ११ सेल अश्रुग्यास प्रयोग गरेको थियो।

आज पनि तनाव न्यून नहुँदै दुई पक्षका भलादमी र प्रशासनबीच सो पोलमा दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो। तर प्रक्रिया अघि बढ्दै गर्दा पुनः स्थिति बिग्रिएपछि प्रहरीलाई गोलीसहित अश्रुग्यास प्रयोग गर्नुपरेको डिएसपी सिंहले बताए। घटनापछि देवपुरा रुपैठा क्षेत्रमा स्थिति अझै तनावग्रस्त रहँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0