काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको प्रभाव इन्टरनेट सेवाको आधारभूत ढाँचामै देखिन थालेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीले बताएका छन्।
उनका अनुसार प्राविधिक संरचनाको सम्यक ज्ञान बिना लिइएका यस्ता निर्णयहरूले प्रयोगकर्ताको डिजिटल जीवनमा अप्रत्याशित समस्या निम्त्याउन सक्छ।
“उदाहरणका लागि, युट्युब बन्द गर्न एउटै आईपी (IP) प्रयोग गर्दा त्यहि आईपीमा आधारित अन्य सेवा—जस्तै जिमेल—समेत बन्द हुन सक्छ,” अध्यक्ष पराजुलीले बताए। “यस्तो अवस्था आउँदा प्रयोगकर्ताको मोबाइल सेवा समेत प्रभावित हुन सक्छ, जसले देशभरको संचार प्रणालीमै असर पार्न सक्छ।”
उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय प्रशासनिक र राजनीतिक तहमा गरिए पनि प्राविधिक पक्षलाई बेवास्ता गरिएको गुनासो गरे।