झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिबार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गरेका हुन्।
१५ दिनसम्म सञ्चालन हुने तालिममा वडा–६, ७ र ८ का करिब ८० जना सहभागी हुनेछन्। वडानुसार तालिम स्थल छुट्टै तोकिएको छ—वडा–८ का लागि झिलझिले माध्यमिक विद्यालयको सभा हल, वडा–६ र ७ का लागि लालझोडास्थित भानु माध्यमिक विद्यालय। स्थानीय समन्वय समितिका संयोजक तथा पतञ्जलि योग समिति शिवसताक्षीका मोहन निरौलाले जानकारी दिए।
उद्घाटन समारोहमा वडा–७ का अध्यक्ष भवानी विक्रम चेम्जोङ पनि सहभागी भए, जो स्वयं प्रशिक्षार्थी समेत हुन्। प्रमुख अतिथि फेउदिन र चेम्जोङ दुवैले योगलाई समुदायमै विस्तार गर्न आर्थिक सहयोगका लागि चालु आर्थिक वर्षबाट बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।
सो अवसरमा पतञ्जलि योग झापाका अध्यक्ष देवीप्रसाद घिमिरे, महिला कमिटी झापाकी अध्यक्ष प्रेमकला निरौला, संगठन विभाग प्रमुख तथा सचिव कृष्णप्रसाद ओझा, नेपाली कांग्रेसका नेता परशुराम ढुङ्गाना, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उदय प्रकाश राईलगायतले योगको महत्वबारे धारणा राखे। वक्ताहरूले नियमित योग अभ्यासले स्वास्थ्यमा सुधार ल्याउने, औषधि खर्च घटाउने र जीवनस्तर उकास्नेमा जोड दिए।
चिकित्सकहरूका अनुसार योगले मधुमेह, उच्च रक्तचाप, मोटोपन, मानसिक तनाव र अनिद्राजस्ता समस्या नियन्त्रणमा मद्दत पुर्याउँछ। यसले शरिरमा स्फूर्ति ल्याउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र दीर्घरोगको उपचार खर्च घटाउने मानिन्छ।
हाल झापामा करिब १० हजारभन्दा बढी व्यक्तिले नियमित योग अभ्यास गर्दै आएको पतञ्जलि योग झापाले जनाएको छ।
कार्यक्रमको सञ्चालन महासचिव रुद्र ओलीले गरेका थिए।












