झापा । मोफसलको लोकप्रिय फुटबल प्रतियोगिता ‘झापा गोल्डकप’को सातौं संस्करण निवर्तमान अध्यक्ष स्व. विनोद बस्नेतको स्मृतिमा समर्पित हुने भएको छ । शनिबार बसेको बैठकले प्रतियोगिताको नाम ‘स्व. विनोद बस्नेत स्मृति झापा गोल्डकप’ राख्ने निर्णय गरेको हो ।
झापा गोल्डकपका अध्यक्ष केदार गिरीका अनुसार छैटौं संस्करण सफल बनाउन बस्नेतले पुर्याएको भूमिकाको उच्च कदरस्वरूप यसपटकको प्रतियोगिता उनको नाममा समर्पण गर्ने सर्वसम्मत निर्णय गरिएको हो ।
आगामी संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)सँग समय तालिका निर्धारणका लागि पत्राचार गर्ने र स्थानीय पालिकासँग समन्वय गर्न कार्यसमिति सदस्य बिशन लिम्बूलाई जिम्मेवारी दिने पनि बैठकले निर्णय गरेको छ ।
त्यस्तै, बैठकले सात जना नयाँ कार्यसमिति सदस्य मनोनयन गरेको छ । जसमा बिर्तामोडका यादव पोखरेल, पार्वता खरेल विमली, सन्तोष अग्रवाल, मदन खड्का, विपिन बस्नेत, धुलाबारीका धनराज थापा मगर र अर्जुनधाराका बीरबहादुर राई रहेका छन् ।
साथै, बैठकले ६२ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।













