झापा । झापाको दमकस्थित मालपोत र नापी कार्यालय जेनजी आन्दोलनका क्रममा अराजक समूहको आगजनी प्रयासबाट जोगिएको छ ।
नापी कार्यालयका सर्भेक्षक नारायण सापकोटा र उनका सहकर्मीहरूले आन्दोलनकारीकै रूपमा प्रस्तुत हुँदै समूहलाई सम्झाएपछि कार्यालयमा ठूलो क्षति हुन पाएन । सुरुमा २–३ जनाको समूहले मालपोत कार्यालयमा आगो लगाउन खोज्दा कर्मचारी र स्थानीयको सहयोगमा नियन्त्रण गरिएको थियो । केहीबेरमै अर्को समूह आएर तोडफोड गर्दै आगजनी प्रयास गरे पनि कर्मचारीले छलपूर्वक वार्ता गर्दै उनीहरूलाई बाहिर निकालेका थिए ।
‘सबै भ्रष्टलाई कारवाही गर्नुपर्छ भन्ने कुरा हामी पनि सहमत हौं, तर कागजात जल्दा सर्वसाधारणकै नोक्सानी हुन्छ भन्ने सन्देश दिएपछि उनीहरू फर्किए,’ सापकोटाले बताए । ललितपुर घर भएका उनी पाँच महिनाअघि मात्र दमक सरुवा भएर आएका हुन् ।
मालपोत कार्यालय दमक शाखा प्रमुख लक्ष्मीप्रसाद खरेलका अनुसार, ‘फर्निचर र केही उपकरण क्षति भए पनि कर्मचारी र स्थानीयको पहलले कार्यालयमा ठूलो आगलागी हुन पाएन । सर्भेक्षक नारायण सापकोटा, अमर राई र स्थानीयवासीको भूमिका निर्णायक रह्यो,’ उनले भने ।
जेनजी आन्दोलनका क्रममा दमकका अन्य अधिकांश सरकारी कार्यालयमा आगजनी भए पनि मालपोत र नापी कार्यालय भने जोगिएका छन् ।













