शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले मुलुकमा उत्पन्न भएको विषम परिस्थितिमा कर्मचारीलाई जनमुखी र पारदर्शी सेवामा ध्यान दिन निर्देशन दिनु भएको छ ।
नयाँ सरकार गठनसँगै सोमबार नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीलाई नागरिकको कामलाई प्राथमिकता दिन आह्वान गर्नु भएको हो।

नगरप्रमुख थोप्राले नागरिकप्रतिको जवाफदेहिताको कमी, कामकाजमा ढिलासुस्ती र जनप्रतिनिधि तथा कर्मचारीबीचको असमर्थ जिम्मेवारीका कारण आजको परिस्थिति सिर्जना भएको उल्लेख गर्दै, “मैले पटक–पटक भनिरहेँ, कर्मचारीले जहिले पनि पारदर्शी ढंगले काम गर्नुपर्छ,” भन्नुभयो ।
गएको भदौ २४ गते जेनजी विद्यार्थीहरुको कतिपय मागहरु जायज छन् । सरकारका माथिल्लो तहदेखि तल्लो तहसम्मका सरकारका निकायहरुले गरेका कामकाज जनमुखी नभएका कारण यस्तो परिस्थिति आएको नागरिक समाज र विश्लेषकहरुको पनि भनाई छ ।

उहाँले जनप्रतिनिधि अस्थायी भए पनि स्थायी रुपमा कार्यरत कर्मचारीले राज्य र नागरिक दुवैबाट विश्वास र सम्मान प्राप्त हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
जेनजी आन्दोलनका क्रममा झापाका अन्य पालिकामा ठूलो क्षति पुगे पनि शिवसताक्षी नगरपालिका सुरक्षित रहन सफल भएको भन्दै नगरप्रमुख थोप्राले त्यसमा भूमिका खेल्ने जेनजी युवायुवती, नागरिक समाज, राजनीतिक दल र सुरक्षा निकायप्रति विशेष धन्यवाद आभार व्यक्त गर्नु भयो ।
उहाँले आगामी दिनमा शिवसताक्षीलाई पारदर्शी, जवाफदेही र सेवामुखी नगरको रुपमा स्थापित गर्न कर्मचारीको सक्रिय भूमिका अपरिहार्य हुनेमा जोड दिनु भएको थियो ।













