झापा । जेनजी आन्दोलनले आगोको लप्कामै ध्वस्त बनाएको कनकाई नगरपालिकाको भवनको भग्नावशेषमाथि त्रिपाल ओछ्याएर आज कार्यपालिका बैठक सम्पन्न गरिएको छ ।

नगरप्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गर्दै श्रद्धाञ्जलि अर्पण गर्ने पहिलो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिए ।

बैठकले मंगलबारदेखि नगरपालिकाको नियमित सेवा सुचारु गर्ने, क्षतिको लगत संकलन गर्ने र लुटिएका सामानको खोजी तत्काल थाल्ने निर्णय पनि गरेको छ ।

आन्दोलनका क्रममा कनकाई नगरपालिकाको भव्य भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने महत्त्वपूर्ण कागजातहरू जलेर खरानी बनेका छन् । नगरप्रमुख पोखरेलको निजी निवास समेत आन्दोलनकारीले आगजनी गरी ध्वस्त बनाएका थिए ।

यस्ता कठिन परिस्थितिमा पनि जनप्रतिनिधि र कर्मचारीलाई हतोत्साहित नभई अझ उच्च मनोबलका साथ नागरिक सेवामा जुट्नुपर्ने धारणा राख्दै नगरप्रमुख पोखरेलले, “खरानी टकटक्याएर फेरि उठ्नैपर्छ” भन्ने दृढता बैठकमा प्रकट गरेका सहभागीहरूले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0