विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेन जी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले मोरङले मंगलवार विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालको इतिहासमा अकल्पनीय र दुखद् घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
जेनजीको आवरणमा भएको षड्यन्त्रमूलक क्रियाकलापहरू गम्भीर भएको उल्लेख गर्दै कार्कीले यसका विविध पाटोहरू बिस्तारै पटाक्षेप हुने बताउनुभयो । एकले अर्कोको विरुद्ध प्रयोग गर्दा देशको सार्वभौम सत्ता नै संकटमा पर्ने गरी परिस्थिति सिर्जना भएको उल्लेख गर्दै कार्कीले अहिलेको अवस्थामा जजसले यो घटना घटाएका छन् उनीहरुले देशको सार्वभौमसत्तामाथि नै खतरा पैदा गरेको धारणा राख्नुभयो ।
नेतृत्वको विषयमा उठिरहेको प्रश्नको विषयमा उहाँले यसका विषयमा पनि छलफल हुने र नेकपा एमालेको वैधानिक प्रक्रियाबाट नै यसको छिनोफानो हुने स्पष्ट पार्नुभयो । संकटको बेला नेतृत्वमाथि विभिन्न कोणमा प्रहार भइरहेको उनले गर्दै यतिखेर नेतृत्वको रक्षा गर्दै अगाडि बढ्नुपर्ने र विधि र प्रक्रियामा नेतृत्व परिवर्तन हुने उहाँले उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस र एमालेप्रति अहिले बढी प्रहार भएको र त्यही अनुसार छानीछानी आक्रमण भएको उल्लेख गर्दै एमाले नेता समेत रहेका मुख्यमन्त्री कार्कीले दुवै पार्टी मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अहिलेको सरकार संविधान विपरीत गठन भएको एमालेको ठहर रहेपनि चुनावबाट एमालेपछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो । भदौ २३ गतेको घटनापछि पहिलो पटक कोशी प्रदेशमा नेकपा एमालेले भौतिक रुपमा कार्यकर्ता उपस्थित गरेर अगुवा कार्यकर्ता भेला गरेको हो ।
सो बेलामा करिब ५०० जना कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । भेलालाई सम्बोधन गर्दै एमालेका नेता विनोद ढकालले देशी विदेशी शक्तिहरूका कारण अहिलेको घटना भएको बताउनुभयो । उहाँले यो घटनालाई गम्भीर रूपमा लिएर पार्टी अगाडि बढ्नुपर्ने चर्चा गर्दै अहिले नेतृत्वलाई आलोचना होइन नेतृत्व र कार्यकर्ताको संरक्षण गर्दै सार्वभौम सत्ता जोगाएर अघि बढ्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो । नेतृत्व परिवर्तनको विषयमा यावत प्रश्नहरु भएपनि यो वैधानिक प्रक्रियाबाट हल हुने र जेन जेडहरूको माग अनुसार नै पार्टीलाई रूपान्तरण गरेर लैजाने ढकालले बताउनुभयो ।
कार्यक्रममा एमालेका नेताहरू जीवन घिमिरे, युवराज बास्कोटा, घनश्याम खतिवडा लगायतले बोल्नुभएको थियो । अगुवा कार्यकर्ता भेलामा करिब २० जना कार्यकर्ताले खुल्ला छलफलका माध्यमबाट पार्टी नेतृत्वलाई सुझाव दिनुभएको थियो ।













