काठमाडौँ । भदौ २४ गतेको जेनजी आन्दोलनले देशभरका सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले संकलन गरेको तथ्यांकअनुसार आन्दोलनका कारण नगर र गाउँ दुवै तहका कार्यालय तथा जनप्रतिनिधिहरूका घरमा आगजनी र तोडफोड भएको छ।
नगरपालिका संघका अनुसार देशभरका २९३ नगरपालिकामध्ये १४६ वटामा भौतिक क्षति पुगेको छ। तीमध्ये ७७ वटा नगरपालिकामा आगजनी (गम्भीर क्षति) र ६९ वटा नगरपालिकामा तोडफोड (मध्यम क्षति) भएको छ। १३० वटा नगरपालिकामा भने कुनै क्षति भएको छैन। अझै १७ वटा नगरपालिकासँग सम्पर्क स्थापित हुन सकेको छैन।
प्रदेशगत विवरणमा मधेस प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ ३२ नगरपालिकामा आगजनी र २१ मा तोडफोड भएको छ। त्यसपछि कोशीमा १९, बागमतीमा १०, लुम्बिनीमा ८, सुदूरपश्चिममा ५, गण्डकीमा २ र कर्णालीमा १ नगरपालिकामा आगजनी भएको छ।
गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ४६० गाउँपालिकामध्ये २२ वटा प्रशासनिक भवन पूर्ण रूपमा र १८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ४१ वडा कार्यालय पूर्ण र ४३ आंशिक रूपमा नष्ट भएका छन्। आन्दोलनको क्रममा १० जनप्रतिनिधिका घर पूर्ण रूपमा जलेका छन् भने ३ घर आंशिक रूपमा क्षति भएका छन्।
प्रदेशगत हिसाबले कोशी प्रदेशमा सबैभन्दा बढी क्षति पुगेको छ, जहाँ ९ प्रशासनिक भवन, ३८ वडा कार्यालय र २ जनप्रतिनिधिको घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यसपछि मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिममा पनि ठूलो क्षति भएको छ। कर्णाली प्रदेश भने यसपटक क्षतिबाट जोगिएको छ।
गाउँपालिका राष्ट्रिय महासंघले घटनाको निन्दा गर्दै यस्ता गतिविधिले स्थानीय सरकारको कार्य सञ्चालनमा बाधा पु¥याएको जनाएको छ। साथै, सम्बन्धित निकायलाई घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गरिएको छ।












