झापा । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडमा परेका झापाका अधिकांश पालिकाले भग्नावशेष हटाउँदै आजदेखि अत्यावश्यक सेवा सञ्चालन गरेका छन्। आन्दोलनपछि करिब दुई सातासम्म ठप्प रहेका पालिकाहरूले खरानी पन्छाएर सेवा फेरि सुचारु गरेका हुन्।

भदौ २४ गतेको आन्दोलनमा शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका बाहेक जिल्लाका १५ पालिकामध्ये सबै प्रभावित भएका थिए।

अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेका अनुसार नगर कार्यपालिकासहित ११ वटै वडा कार्यालयबाट आजदेखि सेवा सुरु भएको छ। नागरिकता सिफारिस, घरजग्गा पास, चारकिल्ला सिफारिस, राजस्व संकलनलगायत प्रत्यक्ष सरोकारका सेवा सञ्चालनमा आएका छन्।

सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलबसमेत वितरण भइसकेको छ। आगजनीमा जलेका वडा कार्यालयहरूको मर्मतपछि हाल सबै सेवा सभाहलमा एकीकृत गरी दिइएको छ।

कनकाई नगरपालिकाले भने आफ्नै जलेको भवनबाट सेवा प्रारम्भ गरेको छ। नगर प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेका अनुसार दुई दिनभित्र सबै वडाले आफ्नै कार्यालयमार्फत सेवा दिने तयारी भइरहेको छ। नगरका करिब ६ हजार लाभग्राहीको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत पठाइएको छ।

मेचीनगर नगरपालिकामा मुख्य प्रशासनिक भवनसहित १५ मध्ये १४ वटा वडा कार्यालय जलेका थिए। प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार आजदेखि न्यूनतम सेवा सुरु गरिएको छ। “हामी युद्धस्तरमा सरसफाइ र पुनःस्थापना कार्यमा जुटिरहेका छौं,” उनले बताए।

त्यस्तै, विर्तामोड, कचनकबल र झापा गाउँपालिकाले भवन र कार्यालय कागजपत्रको खरानी पन्छाउँदै सरसफाइको काम गरिरहेका छन्। विर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईका अनुसार कागजपत्र जलेर नष्ट भएकाले अत्यावश्यक सेवा सुचारु गर्न अझै पाँच दिन लाग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0