शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगर कमिटीले उपाध्यक्ष विष्णुप्रसाद प्रसाईलाई साधारण सदस्यतासहित कम्तीमा एक वर्षका लागि निलम्बन गरेको छ। मंगलबार बिहान बसेको नेकपा एमाले शिवसताक्षी नगरको सचिवालयको बैठकले पार्टी हित विपरीत गतिविधि गरेको ठहर गर्दै यस्तो निर्णय गरेको हो। नगर कमिटीले प्रसाईको कार्वाही पत्र अनुमोदनका लागि जिल्ला कमिटी झापालाई पठाएको छ ।

सदस्यता खारेजसँगै प्रसाईको उपाध्यक्ष पद स्वतः रिक्त भएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा पद तथा सदस्यता त्यागेको स्टाटस आएपछि विवाद उत्पन्न भएको थियो। प्रसाईले भने उक्त स्टाटस आफूले नभई छोरीले सुरक्षाको चिन्तामा पोस्ट गरेको दाबी गरेका छन्। तर, केही नेतासँगको छलफल र टेलिफोन सम्पर्कका आधारमा स्टाटस प्रसाईले नै लेखेको प्रमाणित हुने दाबी पार्टीभित्र गरिँदै आएको छ।

नगर अध्यक्ष मेदनी दङगालले विधानअनुसार पार्टीविरुद्ध गतिविधि गर्ने जो–कोहीमाथि कारबाही हुने चेतावनी दिएका छन्। यसै क्रममा जिल्ला कमिटी सचिवालय सदस्य सिकिन पासवान र सदस्य अग्नि कार्कीको सदस्यता निलम्बनका लागि सिफारिस गरिएको छ।

पासवानमाथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर माई खोलामा बगाएको आरोप छ भने कार्कीले सामाजिक सञ्जालमार्फत पटक–पटक पार्टी आचारण विपरीत टिप्पणी गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
6
+1
1
+1
0
+1
1
+1
0