काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने भएपछि यसपटक संघ, प्रदेश र स्थानीय तहको चुनाव एउटै चरणमा नहुने भएको छ ।

यसअघि २०७४ र २०७९ सालमा तीनै तहको निर्वाचन एउटै अवधिमा सम्पन्न गरिएको थियो । तर, प्रतिनिधि सभा विघटन भई आगामी फागुनमा चुनाव हुने भएपछि अब प्रदेश र स्थानीय तह छुट्टाछुट्टै समयमा हुने भएका हुन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको नयाँ कार्यकाल २०८७ सालसम्म रहनेछ । सो अवधिभित्रै नयाँ प्रतिनिधि सभाबाट बन्ने सरकारले प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।

प्रदेश सभाको पछिल्लो निर्वाचन २०७९ साल मंसिर ४ गते भएको थियो । पाँच वर्षे कार्यकाल पुरा हुने हिसाबले अर्को निर्वाचन २०८४ सालको मंसिरमा हुने आयोगले जनाएको छ । त्यसअघि, स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते भएको थियो । सोही कारण २०८४ साल वैशाख अन्तिमतिर स्थानीय तहको चुनाव हुने देखिन्छ ।

यसरी तीनै तहको चुनाव फरक–फरक समयमा हुने वातावरण बनेपछि संघीय सरकार निरन्तर रहने र चुनावसँगै सरकार फेरिने अवस्थाको अन्त्य हुने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

प्रतिनिधि सभा विघटन र आगामी फागुनमा चुनावको घोषणा जेनजी आन्दोलनपछि सम्भव भएको हो । आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपश्चात् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गते चुनावको मिति तय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0