झापा । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भूभागमा आगामी चार दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ। आज (शुक्रबार) दिउँसो र राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी प्रदेशको तराई, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा कोशी, मधेस, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि असोज २० गतेसम्म (चार दिन) अत्यावश्यक नभए लामो यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह नजिक पुग्न सक्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको चेतावनी दिइएको छ।

विशेष सतर्कता अपनाउन भनिएका स्थानहरू:

बागमती प्रदेश : काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन

कोशी प्रदेश : सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ

मधेस प्रदेश : बारा, पर्सा, सर्लाही, रौतहट

यी जिल्लासहितका आसपासका क्षेत्रमा ससाना नदीमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0