झापा । झापामा निरन्तर वर्षासँगै आएको बाढीले विभिन्न स्थानका बस्तीहरू डुबानमा परेका छन् । असोज १८ गतेदेखि परेका अविरल वर्षाका कारण जिल्लाभरका नदी–नाला उफ्रँदा ४५० भन्दा बढी घर प्रभावित भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
डिएसपी खड्काका अनुसार बाढीपीडितहरूको उद्धार कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा तीव्र गतिमा जारी छ । “हालसम्म करिब १०० घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

मेचीनगर नगरपालिका–६ मा कालीखोला उफ्रँदा पूर्व–पश्चिम राजमार्ग नै अवरुद्ध भएको छ । सो सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, शिवसताक्षी नगरपालिका–१० को सुकुना खोलामा आएको बाढीले ह्युमपाइप बगाउँदा आवागमन रोकिएको छ ।
बाढीले झापा गाउँपालिका–२ को सुगाबथानमा पनि ठूलो क्षति पुर्याएको छ । माइखोला बस्तीमा पसेपछि ५६ घरधुरीका १४० जना विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय कुवाडी माध्यमिक विद्यालयमा अस्थायी रूपमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढी पस्दा करिब ३५० घर डुबानमा परेका छन् । उद्धार र राहत कार्य निरन्तर भइरहेको छ । झापा–१, ६ र ७ मा समेत माइखोला बस्तीभित्र पसेको प्रहरीले जनाएको छ ।

यस्तै, भद्रपुर नगरपालिका–५ मा २५ घर डुबानमा परेपछि प्रभावितहरू आफन्तकहाँ आश्रय लिइरहेका छन् । मेचीनगर–१५ को सतिघट्टा र ज्यामिरगढीबीचको बस्ती पनि डुबानको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार अहिले जिल्लाभर उद्धार, राहत र सडक सञ्चालनको काम निरन्तर भइरहेको छ । बाढीले साना नदी–नाला आसपासका बस्तीहरूमा ठूलो क्षति पुर्याउने खतरा अझै कायम छ ।












