काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गर्दै गृहमन्त्रीलाई लक्षित गर्दै भने ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु ।’

साथै उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गरे ।

उनले भने, ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेनजीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो ।’

संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेनजी बनेर सडकमा उत्रिएको ओलीले टिप्पणी गरे । राष्ट्रपतिले फागुन २१ चुनाव गर्न भनेर तोकिदिएको बताए ।

उनले थपे, ‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ ? कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्नू । यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’

उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको भन्दै एमालेलाई नजिस्क्याउन चेतावनी दिए।

‘हामी जेलनेल भोगेर आएका हौं। हाम्राको लागि यो नयाँ कुरा होइन,’ उनले थपे। ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं; हामीलाई जिस्काइरहनु पर्दैन। हामीले जनताको शासन भनेर ल्याएका हौं। लडेका हौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0