शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले बाढी प्रभावित समुदायलाई राहत वितरण गरेका छन् । गएको १८ गते आएको वर्षाका कारण कनकाई माइको बाढी प्रभावित नगरपालिका वडा नं. ७ लालपानीका राजवंशी बस्तीका नागरिकलाई खाना पकाउने ग्यास सिलिण्डर, ग्यास चुलो वितरण गरेका हुन् ।

नगरपालिका र वडाका कर्मचारीहरुबाट संकलित रकमबाट ४५ घरपरिवारलाई वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । लालपानीका १२ परिवारलाई नागरपालिकाले खाद्य सामाग्री वितरण गरेको छ । नगरले पहिले वितरण गरेको बाँकी परिवारलाई आज २५ केजी चामल, २ केजी दाल, ५ केजी आलु, १ लिटर खानेतल, २ केजी नुन र १ कार्टुन पानी वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले अन्य विभिन्न संघ संस्थाहरुले खाद्य सामाग्री र लत्ता कपडा वितरण गरे पनि चिसो भुइँमा खाना पकाएर खाने समस्या भएकाले बाढी प्रभावित परिवारलाई समस्या भएको बताउनु भयो । उहाँले नगरपालिकाका कर्मचारीहरुले स्वस्फुर्त रुपमा रकम संकलन गरी उक्त समस्या समाधानका लागि ग्यास चुलो र ग्यास सिलिण्डर वितरण गरेर बाढी प्रभावित परिवारको समस्या बुझेको जानकारी दिनुभयो । नगरप्रमुखले कर्मचारीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

त्यस्तै राहत वितरणका क्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुङ्बाहाङ्फेले समस्यामा परेका नगरका नागरिकको गास बास कपासका लागि नगरको साथसाथै कर्मचारीहरुको उतिकै दायित्व रहेको बताउनु भयो । उहाँले यसमा कर्मचारीहरुको तर्फबाट पनि बाढीप्रभावित परिवारलाई अति आवश्यक ठानेर ग्यास र चुलो वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको सक्रियताले बाढी प्रभावित क्षेत्र बाढी आएको अवस्थामा भन्दा धेरै नै व्यवस्थित भइसकेको छ ।

त्यस्तै शिवसताक्षी नगरपालिकाले आज नै ५ र ६ नम्बर वडाका बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ। वडा नम्बर ५ का ४५ र वडा नम्बर ६ का ३३ परिवारलाई खाद्य सामाग्री वितरण गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरले वडा नं. ५ र ६ मा पनि चामल, आलु, नुन, तेल लगायतका खाद्य सामाग्री वितरण गरेको हो ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिनका लागि नगरको स्वास्थ्य टोलीलाई दैनिक रुपमा नागरिकको स्वास्थ्य परीक्षणका लागि परिचालन गरिएको छ । नगरका स्वास्थ्य शाखाका फोकल पर्सन रोसन अधिकारीले बाढी प्रभावित क्षेत्रमा हैजा बढ्ने सम्भावना रहेकाले घर घरमै गएर स्वास्थ्य परीक्षण तथा औषधी विरामीलाई आवश्यक औषधि वितरण गरिएको जानकारी दिनुभयो ।

लालपानीका बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरुको विद्यालय पोशाक, शैक्षिक सामाग्री समेत बाढीले क्षति पर्याएका हुँदा शैक्षिक सामाग्री समेत वितरणको तयारी रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शैक्षिक सामाग्री व्यवस्थापनका लागि नगरका शिक्षकहरुले स्वस्र्फत रुपमा रकम संकलन गरी नेपाल शिक्षक महासंघ मार्फत नगरपालिकालाई १ लाख २५ हजार रकम हस्तान्तरण गरिसकेको नगरको विपत व्यवस्थापन शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0