झापा । शिवसताक्षी नगरपालिकामा नदिजन्य सामाग्री उत्खनन तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ ।

कनकाई नदी र कमल खोलाबाट नदिजन्य पदार्थ उत्खननका लागि सो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. १० र वडा नं. २ का कार्यालयमा गरीएको हो ।

कार्यक्रममा सहभागी कनकाई नदी आसपासका स्थानीय बासिन्दाले माइधार–दोमुखा क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन नगर्न सुझाव दिएका छन् । उनीहरूले कनकाई नदी वर्षौंदेखि क्रमशः गहिरिँदै जाँदा नदी कटानको समस्या गम्भीर बनेको भन्दै आगामी दिनमा गल्ती दोहोरिन नदिन आग्रह गरे ।

दोमुखा धार्मिक तथा पर्यटन विकास संस्थाका सचिव तेजप्रसाद भट्टराईले कनकाई पुलको पाइलिङ भागमा खोला गहिरिएर पुल नै जोखिममा परेको बताए । उनले सो क्षेत्रबाट नदिजन्य पदार्थ निकाल्ने मापदण्डबारे प्रश्न उठाए ।

त्यस्तै कनकाई सिंचाइ आयोजनाका कर्मचारी बलराम भण्डारीले नदिजन्य पदार्थ उत्खननका कारण कनकाई नदी अझ गहिरिएर नहरको मुहानमा असर परेको बताए । उनले भने, “यदि सिचाइ सुविधा बन्द भयो भने यस नहरमा भर पर्ने सयौं किसानलाई ठुलो क्षति पुग्नेछ।”

स्थानीय पुष्प संग्रौलाले व्यक्तिको नाममा दर्ता जग्गाबाट खोला कुदिरहेकाले राज्यले त्यस्तो क्षेत्रबाट उत्खनन गर्न नहुने धारणा राखे । उनले माइनदिको श्रेस्ता हेर्दा उक्त क्षेत्र कनकाई नगरपालिकाभित्र पर्ने बताए ।

सार्वजनिक सुनुवाईमा अधिकांश सहभागीहरूले कनकाई नदीका दुवै किनारमा दीर्घकालीन तटबन्ध निर्माण गरेपछि मात्र उत्खनन गर्न सकिने सुझाव दिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ्गले वातावरणीय मूल्यांकन प्रतिवेदन तयार गर्नका लागि सुनुवाई आयोजना गरिएको बताए । उनले भने, “यो प्रतिवेदन तयार भएपछि नगर कार्यपालिकाको बैठकले मात्र अन्तिम निर्णय गर्नेछ । नागरिकको सुझावलाई नै आधार मानिनेछ।”

उनले नदिजन्य पदार्थ उत्खननमा रोक लगाउँदा पनि चोरी–तस्करी र राजस्व ह्रासजस्ता समस्या बढ्ने बताउँदै जिम्मेवार र नियन्त्रित उत्खनन आवश्यक रहेको उल्लेख गरे । उनका अनुसार यस नदिबाट ५०–६० परिवार प्रत्यक्ष रूपमा आश्रित छन्, जसको रोजगारी र स्थानीय निर्माण कार्यमा असर पर्ने सम्भावना छ ।

सुनुवाईमा नगर उपप्रमुख नरमाया कार्कीले वातावरणीय मूल्यांकन प्रतिवेदनले नदि जन्यपदार्थ उत्खनन गर्न ठेक्का लगाउन मिल्छ कि मिल्दैन भन्ने निचोड निकाल्ने बताए । उत्खनन गर्न मिल्ने हो भने, कुन स्थानबाट कति घनमिटर निकाल्न मिल्छ त्यो प्रतिवेदनमा आउने भएकाले नागरिकको सुझाबका आधारमा कार्यपालिकाले निर्णय गर्ने जानकारी दिइन् ।

सुनुवाईमा  प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, स्थानीय बासी र नगरका कर्मचारीहरूको उपस्थिती थियो ।

सार्वजनिक सुनुवाई वडा नं. १० का अध्यक्ष हर्क सिगुको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त अध्ययन तथा प्रतिवेदन तयारीको जिम्मा नेचर कन्सल्टिङ सर्भिस, काठमाडौंले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0