शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिका संगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत आज शिवसताक्षी नगरपालिका वडा नं. ११, दूधेस्थित जेष्ठ नागरिक भवनमा एकदिवसीय सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने साथै फर्किएका आप्रवासीहरूलाई स्थानीय स्तरमा पुनःस्थापना गर्न सहयोग पुर्याउनु रहेको थियो । कार्यक्रमले स्थानीय समुदायमा रहेका फर्किएका आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूलाई स्वदेशमै स्वरोजगारमुखी कार्यहरूमा लाग्न प्रेरित गर्ने र यदि वैदेशिक रोजगारमा जानु परे पनि सीप सिकेर दक्ष जनशक्ति बनेर नेपाल सरकारले तोकेका मापदण्डहरूको पालना गर्दै सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान प्रेरणा प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

कार्यक्रममा परियोजनाका सामाजिक परिचालक श्री चिरञ्जीवी लुइटेलले वैदेशिक रोजगारमा प्रस्थान गर्नु अघि ध्यान दिनुपर्ने विषयहरू, विदेशमा रहँदा सुरक्षित रहन अपनाउनुपर्ने उपायहरू, तथा स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनाबारे जानकारी गराएका थिए ।
४५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा वडा नं. ११ की परियोजना सल्लाहकार समिति सदस्य कमला लिम्बू सुब्बाको अध्यक्षता तथा वडा सदस्य प्रेमलाल भुजेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अतिथिको रूपमा वडा नं. ११ का परियोजना सल्लाहकार समिति सदस्य तपन गुरुङ, जेष्ठ नागरिक तथा सामाजिक व्यक्तित्वद्वय बद्री भट्टराई र ब्रम्हलाल फुयाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण शिवसताक्षी नगरपालिका रोजगार शाखाका रोजगार संयोजक श्री बिदुर तिम्सिनाले गर्नुभएको थियो ।












