शिवसताक्षी । नेपाल स्काउट कोशी प्रदेशअन्तर्गत स्थानीय स्काउट शिवसताक्षीले ट्राफिक व्यवस्थापनमा खटिएका स्काउट विद्यार्थीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

गएको असोज १८ गतेको अविरल वर्षाका कारण भालु खोला डाइभर्सन क्षतिग्रस्त हुँदा सवारी चाप बढेको थियो । सोही क्रममा सवारी आवागमनलाई सहज र व्यवस्थित बनाउन स्वेच्छिक रूपमा खटिएका १५ जना स्काउट विद्यार्थीलाई सम्मानस्वरूप प्रशंसा पत्र प्रदान गरिएको हो ।

नेपाल स्काउट शिवसताक्षीद्वारा दूधेमा आयोजित “शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम” का अवसरमा नगरप्रमुख मेगाहाङ थोप्रा र नेपाल स्काउटका प्रमुख आयुक्त डिगम पराजुलीले संयुक्त रूपमा प्रशंसा पत्र वितरण गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख थोप्राले विपद् व्यवस्थापनका बेला देखाएको जिम्मेवारी र सेवाभावका लागि विद्यार्थीहरूको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । उनले बाढीका कारण नगरपालिकाभित्र ठूलो क्षति पुगेको बताउँदै सबैको सहयोग र सहकार्यले संकटको घडी पार गर्न सफल भएको उल्लेख गरे । साथै उनले दीपावली, छठ लगायत नेपालीहरुको साझा सबै पर्वका अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा स्काउट विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकाल, नगर प्याब्सन अध्यक्ष राम सुहाङ, शिक्षक विष्णु खतिवडालगायतले पनि शुभकामना मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0