सरोज भट्टराई
शिवसताक्षी । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ । आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिता स्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर अहिले कुर्सी जडानको काम जारी रहेको आयोजक झापा महिला गोल्डकप समितिले जनाएको छ ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार खेलमैदानमा फाइनल घाँस काट्ने र मञ्च सजाउने अन्तिम तयारी भइरहेको छ । मञ्चमा तीन सयजना बस्नका लागि कुर्सी जडान भइरहेकाले बाँकी प्याराफिटमा करिब तीन हजारभन्दा बढी दर्शक अटाउने व्यवस्था मिलाइएको छ । साथै, खेलमैदानको पूर्व, उत्तर र दक्षिण भागमा अस्थायी प्याराफिट निर्माण कार्य पनि सुरु गरिएको छ ।

गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ । हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । जसमा त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमसँगै भारत, भुटान र नेपालका तीन ए–डिभिजन क्लब पनि प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।

नगरप्रमुख तथा प्रतियोगिताका संरक्षक मेगाहाङ थोप्राका अनुसार पक्की प्याराफिट निर्माण, खेलमैदान सुधारका काम लगभग सकिएको छ । अन्य पूर्वाधार निर्माणका कामहरू अन्तिम चरणमा छन् । प्रतियोगिता सञ्चालनमा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
झापामा महिला फुटबलको इतिहास रच्ने यो गोल्डकपले महिला खेलाडीहरूको सपना, आत्मविश्वास र क्षमतालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।













