दमक । झरीका बीच नेकपा (एमाले) ले झापाको दमकमा संसद पुनःस्थापनासहितका माग राख्दै मोटरसाइकल र्‍याली आयोजना गरेको छ।

एमाले दमक नगर कमिटीको आयोजनामा भएको र्‍यालीमा पार्टीका २३ वटा जनसंगठनका प्रतिनिधिहरू, युवा, महिला, सर्वसाधारण र कार्यकर्ताहरू वर्षा बीच सहभागी भएका थिए।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आयोजित उक्त र्‍याली दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरबाट सुरु भई दमक–८ सेतुमारी हाइवे हुँदै पखेटेचोक, दमक–२ आम्दा रोड, मदनडाँगी सडक, फाल्गुनन्द चोक हुँदै गणतन्त्र चोकमा कोणसभामा परिणत भएको थियो।

र्‍यालीको क्रममा एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलले गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ पछि मुलुकको राजनीतिक दिशा भट्किएको भन्दै संसद पुनःस्थापना गरेर मात्र देशलाई स्थिरतामा ल्याउन सकिने बताए।

त्यसैगरी, गणतन्त्र चोकमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले देशमा कैदीबन्दी फरार रहेको, शान्ति–सुरक्षा कमजोर भएको र लुटिएका हतियार अझै नफर्किएको परिस्थितिमा एमालेले संसद पुनःस्थापनाको माग उठाएको स्पष्ट गरे। उनले  वर्तमान शुशिला कार्की नेतृत्वको सरकारले यदि निष्पक्ष चुनाव हुने वातावरण सिर्जना गर्न सक्छ भने एमाले चुनावबाट नभाग्ने स्पष्ट पारे ।

बंगालको खाडीबाट विकसित मोन्था चक्रवातको कारण परेको वर्षालाई बेवास्ता गर्दै ठूलो संख्यामा एमाले कार्यकर्ता, शुभेच्छुक र समर्थकहरूले सहभागिता जनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0