बिर्तामोड । नेकपा (एमाले) नगर कमिटी बिर्तामोडले जेएनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र विध्वंसका घटनासम्बन्धी आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

आज पत्रकार सम्मेलनमार्फत पार्टीले आन्दोलनका क्रममा भएका जनहानि र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जिम्मेवार राजनीतिक शक्ति बनेर मुलुकको स्थायित्व र संविधानको रक्षा गर्न प्रतिबद्ध रहने जनाएको छ।

विज्ञप्तिअनुसार गत भदौ २३ गते नवयुवा जेएनजी पुस्ताले विभिन्न मागसहित गरेको आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको थियो। बिर्तामोडमा प्रहरीसँगको झडपमा तीन जनाको ज्यान गएका घटनाप्रति पार्टीले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

आन्दोलनका क्रममा नगर कमिटी अध्यक्ष सुभाष भट्टराईको घर, गाडी र स्कुटरमा आगजनी तथा लुटपाट, पूर्वनगरप्रमुख धुर्वकुमार शिवाकोटीको घर र गाडीमा आगजनी, प्रदेश मन्त्री एकराज कार्कीको निवासमा तोडफोड, नगरप्रमुख पवित्रा महता प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीको गाडीमा तोडफोड, शिक्षक हित साकोस कार्यालय, गरामनी क्याम्पस, बिर्तामोड नगरपालिका कार्यालय भवन र गाडी, वडा नं. १, २, ३, ४, ५, ७ र ९ का वडा कार्यालयहरू, यातायात व्यवस्था कार्यालय मेची, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय अनार, नेकपा एमाले झापा जिल्ला कार्यालय, एमाले बिर्तामोड ७, ८, ९ को संयुक्त पार्टी कार्यालय र उद्रकान्त प्रतिष्ठानमा आगजनी र लुटपाट भएको उल्लेख गरिएको छ।

पत्रकार सम्मेलनमा एमालेले आन्दोलनपछि भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गर्दै पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टीका अनुसार नगर कमिटी अध्यक्षदेखि विभिन्न जनप्रतिनिधिका घर, कार्यालय र सवारीसाधनमा आगजनी, तोडफोड तथा लुटपाट भएका छन्। साथै, बिर्तामोड–८ गरामनीस्थित शहीद प्रतिमाको तोडफोडमा संलग्न व्यक्तिलाई पनि कारबाही गर्न माग गरिएको छ।

एमालेले हालको सरकार असंवैधानिक भएको आरोप लगाउँदै संसदद्वारा पारित बजेट कटौती गरेर बिर्तामोड क्षेत्रमा विनियोजित करोडौँ रुपैयाँका योजना रोकिएको दाबी गरेको छ। रोकिएका योजना तत्काल कार्यान्वयनमा ल्याउन माग गरिएको छ।

पार्टीले बेमौसमी वर्षाका कारण धान नष्ट भएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न, संविधान संशोधनमार्फत नवयुवाको माग सम्बोधन हुनेगरी प्रतिनिधित्व सुनिश्चित गर्न तथा आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुने ११औं महाधिवेशनका तयारीमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0