शिवसताक्षी । ‘जेन्जी आन्दोलन’पछि नेकपा (एमाले) ले देशव्यापी जनजागरण अभियान सुरु गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमण तथा आगजनीको विरोधमा सुरु गरिएको अभियान कार्तिक २२ गतेदेखि स्थानीय तह हुँदै केन्द्रसम्म सञ्चालन हुने पार्टीले जनाएको छ।

गएको भदौ २३ र २४ गतेको ‘जेन्जी पुस्ताको आन्दोलन’मा घुसपैठ भएको ठहर गर्दै एमालेले उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दै जनस्तरमा संवाद र सचेतना अभियान थालेको हो।

शिवसताक्षी नगरपालिकामा पहिलो दिनको अभियान उत्साहजनक रहेको पार्टी नगर कमिटीका सचिव तथा संगठन विभाग प्रमुख लक्ष्मी गुरागाईंले बताए। उनका अनुसार सबै वडामा उल्लेखनीय जनसहभागिता रह्यो।

विभिन्न वडामा मोटरसाइकल र्‍याली, सरसफाइ तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएका छन्। वडा नं. १, ६ र १० मा बृहत मोटरसाइकल र्‍याली, वडा नं. ४ र ९ मा सरसफाइ कार्यक्रम, र अन्य वडामा विस्तारित बैठक तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो।

चिल्लागढ धाममा सम्पन्न सरसफाइ कार्यक्रममा प्रदेश सांसद एलपी सावा लिम्बु, नगरप्रमुख मेघाङ थोप्रा र पार्टीका नगर अध्यक्ष मेदनी दङ्गाललगायत नेताहरू सहभागी थिए।

पार्टीका अनुसार शिवसताक्षी नगरपालिकामा मात्र करिब २ हजार ४ सय संगठित सदस्य छन्। मङ्सिर २९ गते झापामा जिल्लास्तरीय मुख्य कार्यक्रम आयोजना गरिने एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0