काठमाडौं । नेकपा एमालेका कार्यकर्तासँग भएको झडपपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको मुख्य गेट तोडिदिएको छ। स्थानीय युवाको एक समूहले विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामे गेट धकेली फुटाएको हो।

गेटमा त्यतिबेला दुई जना मात्र प्रहरी तैनाथ थिए। युवाहरुले बलपूर्वक गेट धकेल्न थालेपछि प्रहरीले रोक्न खोजे पनि सकेनन्। गेट भाँचिँदै प्रहरीकै माथि खसेको बताइएको छ। घटना लगत्तै केही युवा भित्र छिरे पनि सुरक्षाकर्मीले केही समयमै उनीहरुलाई नियन्त्रणमा लिएर बाहिर निकालेका थिए।

बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतलगायतका नेताहरू त्यहाँ जाँदै थिए। नेताहरू पुग्नुअघि नै सिमरा बजार क्षेत्रमा स्थानीय युवा र एमाले कार्यकर्ताबीच झडप भएको थियो।

त्यही घटनापछि आक्रोशित समूहले एमाले नेताहरू विमानस्थल आउन लागेको सूचना पाएपछि गेट फुटाउँदै भित्र प्रवेश गरेको जनाइएको छ। बढ्दो तनावलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय, बाराले कर्फ्यु आदेश जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0