झापा । पितृको शान्ति र सद्गतिको कामना गर्दै झापाको अर्जुनधारा जलेश्वर धाम, सताक्षीधाम, काठमाडौंको पशुपतिनाथ लगायत देशभरका प्रमुख शिवालयमा आज बिहान शतबीज छरिएको छ।
मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बिहानै उठेर नुहाईधुवाई शुद्ध भई पितृ तर्पण र ‘बाला चतुर्दशी’को धार्मिक परम्पराअनुसार शतबीज छर्ने विधि पूरा गरेका हुन्।
यता झापाको प्रशिद्ध तीर्थस्थल सताक्षीधाम र अर्जुधारा जलेश्वरधाममा हजारौं संख्यामा भक्तजनहरुले मंगलबार रातभर पितृका नाममा दिप बालेर जाग्रम बसेका थिए । उनीहरुले आज विहान ४ बजेदेखि शतवीज छरेका थिए ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्व प्रत्येक वर्ष देशभरका शिवालयमा विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व पितृहरूको आत्माको उद्धार होस्, उनीहरूलाई मोक्ष प्राप्त होस् भन्ने उद्देश्यका लागि मनाइने वैदिक परम्परा हो। विशेषगरी पशुपतिनाथ क्षेत्र तथा शिवालयमा हजारौँ भक्तजन भेला भई रातभर दीपदान गर्दै ‘आरती’ अनि ‘बाला–नाच’ गरी रात जाग्राम बस्ने परम्परा छ।
शतबीज भन्नाले विभिन्न प्रकारका अन्नबीउहरूको मिश्रणलाई जनाइन्छ। धार्मिक विश्वासअनुसार यी बीउ छरेपछि पितृहरूको आत्मा तृप्त हुन्छ र उनीहरूको अधूरो मनोकामना पूरा हुन्छ। साथै, जीव–जगत् र प्रकृतिको समृद्धिका लागि पनि शतबीज छर्ने कर्म गरिन्छ।
मान्यताअनुसार भगवान् शिवका भक्त बाल नामका बालक मृत्यु भएको प्रसंगसँग पनि यो पर्व जोडिन्छ। शिवले बालकको आत्माको उद्धार होस् भनेर मानिसलाई शतबीज छर्न उपदेश दिएको भनाइ छ। यही कारण यो पर्वलाई ‘बालाचतुर्दशी’ भनिन्छ।

झापाको अर्जुनधारा जलेश्वर धाम र सताक्षी धाममा बिहानैदेखि पुरुष–महिला भक्तजनको भीड लागेको थियो। पितृको स्मरणमा खसेका वैदिक मन्त्रसहित शतबीज छरेपछि भक्तजनले शिवालयमा पूजाअर्चना गरी आशीर्वाद लिएका थिए।
त्यस्तै, काठमाडौंको पशुपतिनाथमा पनि हजारौँ भक्तजन रातभर दीपदान बसिसकेपछि बिहानैदेखि शतबीज छर्ने क्रम जारी रह्यो। पशुपति क्षेत्र विकास कोषका अनुसार बाहिरका जिल्लाबाट समेत ठूलो संख्यामा भक्तजन बालाचतुर्दशी पर्वका लागि पशुपति पुगेका छन्।













