झापा । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित जनआदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। नेपाली कांग्रेस नगर कार्यसमिति शिवसताक्षीको आयोजनामा तथा नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो।
आगामी मंसिर ८ गते शिवसताक्षी क्षेत्र भित्रका नागरिकको स्वास्थ्य मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको नगर सभापति अशोक बस्नेतले जानकारी दिए । उनले पछिल्लो समय पार्टीले रचनात्मक काम गरेर नागरिकको सेवा गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
शिविरमा जेनेरल फिजिसियन, मुटु, हार्ड–जोर्नी तथा नसा, नाक, कान, घाँटी, छाला रोग, मानसिक रोग, बाल रोग, दन्त रोग, आँखा, जेनेरल सर्जरी, प्रसूति तथा स्त्रीरोग, साथै भिडियो एक्स–रे, र ल्याब जस्ता सेवा उपलब्ध गराइने नेपाली कांग्रेस नगर समिति शिवसताक्षीले जनाएको छ ।
“स्वास्थ्य सबका लागि, कांग्रेस तपाईँको साथमा” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यो एकदिने शिविरले विशेषगरी विपन्न तथा उपचारका लागि विराटनगर पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई सहयोग पुग्ने वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले नगर तथा वडाबासीहरु सबैलाई स्वास्थ्य शिविरबाट सेवा लिन आग्रह समेत गरे ।













