प्रदीप परियार
बिर्तामोड । झापाको बिर्तामोड – १० मा अवस्थित सधु पोखरीबाट अवैध रुपमा माटो उत्खनन् गरी विक्री गरिएको छ । उपभोक्ता समितिले अवैध रुपमा माटो विक्री गरेर माछा पाल्नका लागि पोखरी समेत भाडामा दिएको पाइएको छ ।

प्रयोगविहीन रहेको पोखरीलाई मर्मत संभार गरेर सञ्चालन गर्ने भनि स्थानीय चन्द्र कुमार चुडाल अध्यक्ष रहेको उपभोक्ता समितिले माटो विक्री गरेर माछा पालनका लागि भाडामा दिएको हो । पोखरी भाडामा लगाएको मात्रै साउन यता ३ वर्ष लागेको छ ।

आम भेला नगरी उपभोक्ता समिति बनाएपछि स्थानीयस्तरबाट विरोध समेत भएको थियो । केही दिनदेखि पोखरीको माटो विक्री वापतको लाखौं रुपैयाँ र पोखरी भाडा वापत आउने रकमको खोजी हुन थालेपछि उपभोक्ता समिति तनावमा परेको छ ।

पोखरी भाडाका लागि स्वीकृति लिनुपर्ने र उपभोक्ता समिति समेत दर्ता हुनुपर्ने व्यवस्थालाई वेवास्था गर्दै अवैधानिक ढंगले उपभोक्ता समिति हावी भएर काम गरेको आरोप छ । बिर्तामोड नगरपालिमा उपभोक्ता समिति दर्ता छैन, पोखरी भाडामा दिन स्वीकृति समेत नलिएको बुझिएको छ ।

सो पोखरी ३ वर्षअघि सरसफाई र संरक्षण गर्ने योजना बमोजिम उपभोक्ता समिति बनाइएको थियो । समितिले ३ हजार ट्याक्टर माटो विक्री गरेको सूचना प्राप्त भएको छ । यता, उपभोक्ता समितिले माछा पालनका लागि स्थानीय कपिल न्यौपानेलाई वार्षिक १ लाख ३० हजार रुपैयाँमा पोखरी भाडामा दिएको छ ।

उपभोक्ता समितिको काम अवैधानिक
बिर्तामोड वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले सधु पोखरी सरसफाईको लागि उपभोक्ता समितिलाई जिम्मेवारी दिएको स्वीकार गरेका छन् । उनले सरसफाईका लागि उपभोक्ता समितिलाई जिम्मेवारी दिएको बताए । उनका अनुसार समितिले २५ सय-३ हजार ट्याक्टर माटो विक्री गरेको छ ।

उपभोक्ता समितिले पोखरीको माटो विक्री गर्ने भनेपछि आफूले उक्त रकम पोखरीमै खर्च गर्न सूझाव दिएको जानकारी दिए । पोखरी सफाई गर्दा डिलमा राखिएको माटो विक्री गर्नुभएछ, बाटो बनाउन पनि विभिन्न ठाउँ पठाउनुभएको पाएँ, वडामा पनि पठाउनुभयो, अध्यक्ष गुरुङले भने – मैले त्यहाँको हिसाव खोजेको छु । हिसाव चुस्तदुरुस्त हुनुपर्छ भनेको छु ।

वडाध्यक्ष गुरुङले चुडाल नेतृत्वको उपभोक्ता समितिले काम गरेपछि कुनै पनि आम्दानी वडामा नआएको स्पष्ट पारेका छन् । हिसाव नै सार्वजनिक भएको छैन, उनी भन्छन् – वडालाई माटोको हिसाव देखाउनुपर्छ । वडाध्यक्षलाई समितिले केही रकम उठ्न बाँकी रहेको जानकारी गराएको बुझिएको छ ।

उपभोक्ता समिति दर्ता नभएपछि वडाध्यक्ष गुरुङले सबै प्रक्रियालाई कानुनी रुपमा वैधानिक मान्न नसकिने जानकारी दिए । उनका अनुसार उपभोक्ता समिति दर्ता भएको छैन । व्यवहारिक हिसावले काम गर्नुभएको छ, तर कानुनी रुपमा वैधानिक छैन ।

उपभोक्ता समिति दर्ता गर्न बाँकी
उपभोक्ता समितिका अध्यक्ष चन्द्रकुमार चुडालले वडा मार्फत पोखरी भाडामा दिएको जानकारी दिए । उनले पोखरीबाट थोरबहुत माटो बेचिएको स्वीकार गरेका छन् । उपभोक्ता समिति दर्ता नभएको उनको भनाई छ । समिति दर्ताको प्रक्रिया अघि बढाएका छौं, उनले भने – हरहिसाव पनि क्लियर गर्दैछौं ।

अध्यक्ष चुडालले वडाले भने अनुसार नै काम गरेको प्रतिक्रिया दिएका छन् । पोखरी मर्मतको काम वडाको पैसाले नगरेको भन्दै उनले स्काभेटर प्रयोग वापत लागेको खर्च बराबर माटो बेचिएको दावी गरे । उनले पोखरीबाट अहिलेसम्म माछा ननिकालिएको समेत जानकारी दिए । उनका अनुसार २-३ लाख रुपैयाँ समितिसँग बचत छ ।

माइन्यूटमा उल्लेख भए अनुसार समितिको उपाध्यक्षमा इन्दिरा उप्रेती, सचिव विष्णु प्रसाद सुवेदी, सहसचिव देवीमाया भट्टराई, कोषाध्यक्ष तेजकुमारी खड्का (चौधरी) रहेका छन् । सदस्यहरुमा भोलानाथ पाण्डे, धनपति शिलवाल, गणेश निरौला, बद्री पाण्डे, दिलीप रसाईली, काँशीनाथ उप्रती, हिमादेवी नेपाल र कृष्णप्रसाद पाण्डे रहेका छन् ।

पोखरी सञ्चालनको स्वीकृति छैन
उक्त पोखरीबारे नजिकबाट अध्ययन गरेका एक जना जनप्रतिनिधिले वडाध्यक्ष गुरुङले एकलौटी रुपमा उपभोक्ता समिति बनाएर काम गरेको आरोप लगाए । धेरै कुराहरु वडाध्यक्षलाई नै सोध्नु भन्दै पन्सिन खोजेका उनले ४२९० ट्याक्टर माटो विक्री भएको प्रमाण आफूसँग भएको जानकारी दिएका छन् । उपभोक्ता समिति दर्ता नगरी अवैधानिक ढंगबाट माटो उत्खनन् गरेर पोखरी भाडामा दिएको बताए । उनका अनुसार माटो विक्री गर्दा बोलपत्र आव्हान गर्नुपर्छ । अवैधानिक हिसावले पोखरी सञ्चालन गरिरहेको आरोप लगाएका उनले थपे – पोखरी भाडामा चलाउने स्वीकृति कसले दियो ? कहाँबाट निर्णय भयो ?

माटो विक्रीमा ठुलो चलखेल भएको भन्दै छानविन गर्न आवश्यक रहेको उनको माग छ । उनले १५ देखि १८ सय रुपैयाँ प्रति ट्याक्टर माटो बेचेर ७ सयको हिसाव राखिएको दावी गरेका छन् ।

उत्खनन् र भाडामा दिने प्रक्रिया अवैधानिक : उपप्रमुख
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सधु पोखरी उत्खनन् र भाडामा दिने प्रक्रिया अवैधानिक भएको जानकारी दिए । उनका अनुसार वडाले नगरसँग इजाजत लिएर माटो उत्खनन् र भाडामा दिने प्रक्रिया अघि बढाउन सक्थ्यो । त्यस प्रकारको कुनै पनि प्रक्रिया अपनाइएको पाइएन ।

टेण्डर मार्फत हुनुपर्ने काम दर्ता समेत नभएको उपभोक्ता समितिबाट भएको उपप्रमुख संग्रौलाको भनाई छ । उक्त पोखरीको सन्दर्भमा नगरपालिकालाई जानकारीहरु प्राप्त भएका छन् । हामी आवश्यक छानविन गर्छौ, घटना अख्तियार पुगेको भन्ने सूचना छ, उनले भने – अख्तियारले मागेको सूचना नगरका तर्फबाट उपलब्ध गराउन बाध्य हुनेछौं । समितिले नगरपालिकालाई माइन्यूट र विलहरु उपलब्ध गराएको बुझिएको छ । उक्त कागजात अनुसार ३ हजार ९५ ट्याक्टर माटो विक्री गरिएको उल्लेख छ । कागजात अनुसार २१ लाख ६६ हजार ५ सय रुपैयाँको माटोको कारोवार भएको छ ।

वडाध्यक्ष र उपभोक्ता समितिको अध्यक्षलाई थाहा छ : न्यौपाने
तीन वर्षका लागि पोखरी भाडामा लिएर माछा पालन गरिरहेको व्यवसायी कपिल न्यौपानले जानकारी दिए । उनले यो अन्तिम वर्ष भएको बताए ।

पोखरी आफ्नै मेसिन प्रयोग गरेर आफ्नै खर्चमा सफाई गरेको बताउँदै उनले भने – सबै कुरा वडाध्यक्ष र उपभोक्ता समितिको अध्यक्षलाई थाहा छ । उनका अनुसार पोखरीको भाडा बुझाउन अलिकति मात्रै बाँकी रहेको छ । उनले थपे – मेरो पहिलेकै (मेसिन प्रयोग वापत) पैसा पनि बाँकी छ । उनले मेसिन प्रयोग वापत पाउनुपर्ने रकम पाउन बाँकी रहेको स्पष्ट बनाए ।

पोखरीबाट अहिले माछा समेत निकाल्न नपाएको उनको गुनासो छ । माछा चोरी भएर धेरै हैरानी खेप्नु परेको न्यौपानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0