झापा । झापाको दहिझोडा सामुदायिक वनमा मृत फेला परेका सरोज शर्माको हत्याकाण्डको सफल अनुसन्धान गर्ने इन्स्पेक्टरलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भिलझिलेका इन्चार्ज सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरीको रुपमा घोषणा गरी सम्मान गरिएको हो।
कात्तिक ९ गते अर्जुनधारा नगरपालिका–४ दहिझोडामा शिवसताक्षी नगरपालिका–१० निवासी ३३ वर्षीय सरोज शर्मा मृत फेला परेका थिए। उक्त घटनाको अनुसन्धान इन्स्पेक्टर केसीले नेतृत्व गरेको प्रहरी टोलीले गरेका थिए।
प्रहरी टोलीले हत्यामा संलग्न २७ वर्षीय सुनिल साह र उनका भाञ्जा २३ वर्षीय राहुल साहलाई कात्तिक १४ गते पक्राउ गरेको थियो। अनुसन्धान अनुसार, सरोज शर्मालाई अपहरण गरी जङ्गलमा लगेर हत्या गरिएको र शवलाई झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्गको पुलमुनी गाडेर राखिएको थियो। त्यस्तै, शर्माले प्रयोग गरेको सवारी साधन मेचीनगर–१३ मा जलाइएको अवस्थामा फेला परेको थियो।
उत्कृष्ट अनुसन्धान र अपराधी पक्राउमा देखिएको दक्षता तथा योगदानका आधारमा कोशी प्रदेशका डीआईजी ईश्वर कार्कीले इन्स्पेक्टर केसीलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ उपाधि प्रदान गर्दै सम्मान गरेका हुन्।













