इलाम। इलाम नगरपालिका–९ भञ्ज्याङको रेशमखेतीदेखि माथिल्लो सडक खण्डमा आज दिउँसो भएको दुर्घटनामा ग्रीनभ्याली स्कुलका दुई शिक्षकको ज्यान गएको छ।
इलामबाट हेडट्याङ्कतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको एनटर्क स्कुटर र झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुबै शिक्षकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा इलाम नगरपालिका–९ गोलबस्तीका करिब २६ वर्षका डेबिट थापामगर र माईजोगमाई गाउँपालिका–१ नयाँबजार घर भई हाल इलाम–७ चोकबजार बस्दै आएका करिब १८ वर्षका शिक्षक छेवाङ शेर्पा रहेका छन्।
घटनापछि ट्रक चालक इलाम नगरपालिका–५ का रामप्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। ग्रीनभ्याली स्कुलका शिक्षक र कर्मचारीहरूको पिकनिक इनपा–९ भञ्ज्याङदेखि केही तल हेडट्याङ्क क्षेत्रमा आयोजना गरिएको थियो।
दिउँसो गीत–संगीतसँगै रमाइरहेका शिक्षकहरू कति बेला पिकनिक स्थलबाट बाहिरिएका थिए भन्नेबारे आफुलाई थाहा नभएको पिकनिकमा सहभागी एक कर्मचारीले बताएका छन्।













