काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नवयुग ई-बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार असंवैधानिक र हाहुको भरमा बनेको आरोप लगाए । उनले जेनजी सरकारकै प्रधानमन्त्री आफूभन्दा तीन महिनामात्र कान्छो भएको भन्दै कटाक्ष पनि गरे ।
ओलीले भने, ‘अनि को फर्कने त ? अब सरकार कसको रे ? यसमा पनि दुबिधा हुने ? आगो लगाएर सरकार बनाउने ? फेरि पनि यस्तै गरेर सरकार बनाउने ? … म भन्दा साँढे तीन महिनामात्रै कान्छी, जित्नु न सित्नु उसै प्रधानमन्त्री हुँ भन्ने ?’
उनले आगामी निर्वाचनबाट आफ्नो पार्टी एमाले नै सरकारमा आउने दाबी गर्दै भने, ‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौँ । स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौँ। … अबको सरकार भनेको चुनावबाट आउने सरकार एमाले नै हो ।’
ओलीले थप भने, ‘अरू आउँछन् कि आउँदैनन् थाहा छैन, एमाले चाहिँ आयो आयो । एमाले एउटा बाढीजस्तो हो, विशाल नदीमा आएको बाढीजस्तो ।’












