शिवसताक्षी । झापाको शिवसताक्षीको वडा नं. ३ सोनाम ल्होछार २८६१ डुल ल्हो मनाइने भएको छ । शिवसताक्षीको पाराबारी बजारमा नेपाल तामाङ घोदुङ संघ वडा समितिको आयोजनामा डुल ल्हो ल्होछार मनाइने भएको हो ।
वडाले आगामी फागुन ०३ गते शनिबार विविध साँस्कृतिक कार्यक्रम गर्दै सोनाम ल्होछार मनाउने आयोजक तामाङ घोदुङ संघ वडा समितिले जनाएको छ ।
कार्यक्रममा तामाङ समुदायले आफुनो भेष भुषा सहित उपस्थित हुने आयोजक समितिका उपाध्यक्ष सुमित्रा तामाङले जानकारी दिइन् । कार्यक्रममा कलाकार रेश्मा बम्जमको बेजोड प्रस्तुती रहने छ ।
कार्यक्रम संयोजक लासाङ्ग तामाङ्गले तामाङ समुदाय लगायत सम्पूर्ण जात जाति भाषा भाषीहरुलाई कार्यक्रमा आउन आग्रह गरेका छन् ।

ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।












