शिवसताक्षी । झापाको शिवसताक्षी दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा प्रदान गरेको छ । संस्थाले शिवसताक्षी ९ र ११ का सदस्यहरुलाई वित्तीय साक्षरता दिइने उद्देश्यले सदस्य शिक्षा प्रदान गरेको हो ।
कार्यक्रममा शिक्षा उप समिति संयोजक नरपति पाठक र संस्थाका अध्यक्ष विष्णुलाल भट्टराईले संस्थाले गर्दै आएको वित्तीय कारोबार र सहकारीको परिभाषा र आधारभूत सिद्धान्तहरू, सहकारीसँग सम्बन्धित कानुन तथा नीतिहरू, आर्थिक तथा वित्तीय व्यवस्थापनलगायत विषयहरु सदस्यहरुलाई सुचित गराएका थिए ।

सहकारी सदस्यहरूलाई थप सक्षम, सचेत र जिम्मेवार बनाउने उद्देश्यले सञ्चालन हुने सहकारी सदस्य शिक्षा कार्यक्रम विभिन्न व्यावहारिक तथा सैद्धान्तिक विषयमा आधारित रहने गरेको छ। कार्यक्रमले सहकारी सञ्चालन, वित्तीय साक्षरता, सुशासनदेखि प्रविधिको प्रभावकारी उपयोगसमेत समेटेर सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको संस्थाका व्यवस्थापक प्रकाश पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा सदस्यलाई सहकारी भनेको के हो, यसको ऐतिहासिक विकास, उद्देश्य तथा समाजमा सहकारीको भूमिकाबारे विस्तृत जानकारी गराइएको थियो । सहकारी ऐन–नियमावली, बाइलज, सदस्यका अधिकार–कर्तव्य, नेतृत्व विकास, निर्णय प्रक्रिया तथा साधारणसभाको महत्वबारे व्यावहारिक रूपमा सिकाइ प्रदान गरिन्छ । संस्थाले सबै सदस्यहरुलाई क्रमशः सदस्य शिक्षा प्रदान गर्दै जाने जनाएको छ ।












