दमक, झापा । युवालाई जीवनप्रति सकारात्मक दृष्टिकोण, आत्माअनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धता विकास गर्न प्रेरित गर्ने उद्देश्यसहित लेखक हेमन्त नेपालको पुस्तक ‘मिराकल फर युथ्स’ मंसिर २७ गते शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा भव्यताका साथ विमोचन गरिएको छ।
डिपिएल नेपालको छैठौँ महाधिवेशनका बिचमा आयोजित पुस्तक बिमोचन कार्यक्रममा ख्यातिप्राप्त पर्यटन व्यवसायी, लेखक तथा प्रेरणादायी वक्ता कर्ण शाक्यका प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानकी केन्द्रिय सदस्य सुमित्रा वाङ्देल चेली र डिपिएलका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको विशेष आतिथ्यता रहेको थियो । यसका साथै डिपिएल नेपाल र यस मातहतका सम्पुर्ण शाखा, विभिन्न संघसंस्था लगायतका प्रतिनिधीहरुको उपस्थितिमा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा पुस्तकको विश्लेषण कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्राध्यापक रुद्रबहादुर थापाले गर्नुभएको थियो ।

उहाँले पुस्तकमा जम्मा १२ अध्याय रहेको जानकारी दिँदै ‘मिराकल फर युथ्स’ नामले युवालाई संकेत गरे पनि यसको सन्देश युवामै सीमित नरहेको स्पष्ट पार्नुभयो।पुस्तक समीक्षा गर्दै प्राध्यापक थापाले यो कृति युवाका लागि मात्र होइन, जीवनमा उत्कृष्टता हासिल गर्न चाहने, प्रगति गर्न चाहने र आत्मविकासको यात्रामा रहेका सबै पाठकका लागि चमत्कारिक भएको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार पुस्तकका प्रत्येक अध्याय छोटा भए पनि सशक्त, स्पष्ट र प्रभावशाली वर्णनले भरिएका छन्, जसले पाठकलाई केवल पढ्ने होइन, जीवनमा व्यवहारमा उतार्न प्रेरित गर्छ।

कर्ण शाक्य : अनुशासन नै सफलताको आधार
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै कर्ण शाक्यले नेपाली युवामा अपार सम्भावना रहेको उल्लेख गर्दै त्यसलाई साकार बनाउन आत्मअनुशासन, स्पष्ट लक्ष्य र निरन्तर प्रयास अनिवार्य हुने बताउनुभयो। उहाँले ‘मिराकल फर युथ्स’ जस्ता प्रेरणादायी पुस्तकहरूले युवालाई सही दिशातर्फ मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
लेखकको भनाइ
पुस्तक लेख्नु केवल प्रकाशनको उद्देश्यले नभई समाजभर युवामा देखिएको मौन पीडा र दिशाहीनतालाई सम्बोधन गर्ने चाहनाबाट जन्मिएको लेखक हेमन्त नेपालको भनाइ थियो । “धेरै युवाले मसँग सपना त छ तर कहाँबाट सुरु गर्ने थाहा छैन, प्रयास गर्छु तर निरन्तर हुन सक्दिन, ममा क्षमता छ कि छैन भन्ने शंका लाग्छ भनेर भन्छन्,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार ‘मिराकल फर युथ्स’ ले युवालाई तीन महत्वपूर्ण सत्य सिकाउँछ— सोच बदलियो भने भविष्य बदलिन्छ, अनुशासन नै वास्तविक चमत्कार हो, र परिवर्तन सुरु गर्ने शक्ति प्रत्येक युवाभित्रै हुन्छ। “परिस्थिति कठिन हुन सक्छ, तर परिस्थितिभन्दा बलियो युवाको आफ्नै निर्णय हो,” उहाँले स्पष्ट पार्नुभयो ।
पुस्तकमा समेटिएका कथा, अनुभव र उदाहरणहरूले “जब एक युवक आफ्नो जीवन बदल्ने निर्णय गर्छ, संसारले उसको लागि बाटो खोल्छ” भन्ने सन्देश दिन्छन्। लेखक नेपालले यो पुस्तक पाठकका लागि जीवनको एउटा निर्णायक मोड (Turning Point) बन्न सकोस् भन्ने चाहना व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यार्थी, युवा उद्यमी, शिक्षक, साहित्यप्रेमी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले पुस्तकले आत्मअनुशासन, समय व्यवस्थापन र जीवनको उद्देश्यप्रति पुनः सोच्न प्रेरित गरेको प्रतिक्रिया दिए ।












