बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस), बिर्तामोड–२, झापाको २९औँ वार्षिक साधारणसभाको अन्तिम माइन्युट प्रमाणित भेला आगामी २०८२ पौस २१ गते सोमबार सम्पन्न हुने भएको छ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, इनरुवाको निर्देशनअनुसार संस्थाले ७ वटा एकाईअन्तर्गत ८६ स्थानमा पौस १ गतेदेखि १२ गतेसम्म उप–एकाई भेला सम्पन्न गरी प्रतिनिधिमूलक रूपमा शेयर सदस्यहरूलाई अन्तिम माइन्युट प्रमाणिकरण सभामा सहभागी गराउने जनाएको छ।
साधारणसभाले संस्थाको सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको आगामी चार वर्षे कार्यकालका लागि २०८३ जेठ १४ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गर्नेछ।
संस्थाले आर्थिक अवस्था अझ मजबुत बनाउने लक्ष्यसहित २०८२–२०८५ अवधिमा २५ अर्ब रुपैयाँको वासलात पुर्याउने दीर्घकालीन लक्ष्य तय गरेको छ। हाल २०८२ आषाढ मसान्तसम्म संस्थामा १ लाख ९२ हजार २४० शेयर सदस्य आवद्ध रहेका छन् भने ८० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान भइरहेको छ।
वित्तीय सूचकांकअनुसार संस्थाको अवस्था मजबुत देखिएको छ। शेयर पुँजी १ अर्ब ६९ करोड ७५ लाख, जगेडा कोष १ अर्ब ३२ करोड ६८ लाख, बचत संकलन १४ अर्ब १५ करोड ७६ लाख, लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख तथा कुल वासलात १८ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
राजनीतिक अस्थिरता र सहकारीप्रतिको नकारात्मक धारणा बढिरहेका बेला पनि संस्थाले चालु वर्ष ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ। जोखिम न्यूनिकरणका लागि प्रति व्यक्ति बचत ३ लाख रुपैयाँभन्दा कम ९८ प्रतिशत र ऋण २५ लाखसम्म ९५ प्रतिशत रहेको जानकारी दिइएको छ।
संस्थाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३१ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको छ। सदस्यहरूको उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि एग्री बिजनेस युनिट सञ्चालनमा ल्याइएको छ भने वातावरणमैत्री नीति अन्तर्गत शून्य कार्बन उत्सर्जनसम्बन्धी कार्यक्रम यस वर्षदेखि सुरु गरिनेछ।
शेयर सदस्यको घरमा मृत्यु हुँदा अबदेखि फोटोफ्रेमको सट्टा पहाडे कागजमा समवेदना पत्र प्रदान गरिने र मृतकको नाममा बिरुवा रोपण वा सामूहिक वृक्षारोपण गरिने नीति लागू गरिएको छ।
यस्तै, लोकप्रिय स्वास्थ्य कार्यक्रमलाई विपन्न वर्गसम्म पुर्याउन विशेष स्वास्थ्य योजना लागू गरिनेछ। युवालाई संस्थामा आवद्ध गर्दै युवा उद्यम कोषमार्फत सहुलियत कर्जा, साथै लोकसेवा परीक्षा तयारी कक्षा सञ्चालन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
प्रविधिमैत्री सेवाअन्तर्गत सहारा स्मार्ट एप, क्यूआर, एटिएम, एसएमएस सेवासँगै अबदेखि कृत्रिम बुद्धिमत्ता (AI) प्रविधि प्रयोग गरी सेवा विस्तार गरिने जनाइएको छ। यसै वर्ष बिर्तामोड–२ चारपानेमा शैक्षिक तालिम केन्द्र र शिवसताक्षीको दोमुखामा कृषि स्रोत केन्द्र निर्माणको थालनी गरिनेछ।
संस्थाले २०८२/०८३ आषाढ मसान्तसम्म २ लाख २५ हजार सदस्य, २० अर्ब वासलात र ४२ करोड रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य प्रक्षेपण गरेको छ।
अध्यक्ष हरि बहादुर राजबंशीले २९औँ वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न गर्न शेयर सदस्य, कर्मचारी, सरोकारवाला, स्थानीय सरकार तथा पत्रकारहरूसँग सहयोगको अपिल गरेका छन्।












