झापा । १३ औँ राष्ट्रिय पोल्ट्री दिवस बिहीबार झापामा पोषण प्रवर्द्धन, जनचेतना र किसान–विद्यालय सहकार्यका कार्यक्रमसहित उत्साहपूर्वक मनाइएको छ ।

दिवसको अवसरमा जिल्लाका कुखुरा पालक किसानहरूले सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी तथा अस्पतालका बिरामीलाई प्रोटिनयुक्त अण्डाको खाजा खुवाउँदै अण्डाको पोषणीय महत्वबारे सन्देश प्रवाह गरेका छन् ।

शिवसताक्षी नगरपालिकाभित्रका विद्यालयहरूमा किसान स्वयं पुगेर विद्यार्थीलाई अण्डा खुवाइएको थियो भने भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई पनि उसिनेको अण्डा वितरण गरिएको नेपाल लेयर्स कुखुरापालक संघ झापाले जनाएको छ । शिवसताक्षीस्थित भगवती माध्यमिक विद्यालय, चेतना माध्यमिक विद्यालय र हाम्रो मन्टेस्वरीका करिब दुई हजार बालबालिकाले अण्डाको खाजा पाएका थिए ।

कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय उपसचिव विवेक निरौलाले अण्डा सस्तो, सुलभ र उच्च गुणस्तरको प्रोटिन स्रोत भएकाले नियमित सेवन मानवको मानसिक तथा शारीरिक विकासका लागि अत्यावश्यक रहेको बताए । उनले किसानलाई प्रोत्साहन गर्न सहुलियत दरको कर्जा, बजार सुनिश्चितता र नीतिगत सहयोग आवश्यक रहेको जोड दिए ।

दिवसको उत्साहसँगै झापामा कुखुरा पालक किसानको अवस्था भने चिन्ताजनक देखिएको छ । चार वर्षअघि १३५ जना रहेका किसान हाल ४२ मा सीमित भएका छन् भने अण्डा उत्पादन पनि उल्लेख्य रूपमा घटेको छ । किसान संरक्षण, उत्पादन वृद्धि र नागरिकको पोषणस्तर सुधारतर्फ राज्यको ठोस नीति आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0