काठमाडौँ । अमेरिकाले यही जनवरी २१ (माघ ७) देखि नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ।

फक्स न्युजका अनुसार अमेरिकी विदेश मन्त्रालयको एक ज्ञापन पत्रका आधारमा यो निर्णय गरिएको हो । निर्णयको उद्देश्य अमेरिका आउने विदेशीको संख्या घटाउनु रहेको जनाइएको छ ।

आप्रवासी भिसा प्रक्रिया रोकिने मुलुकमध्ये एसियाका २२ देश परेका छन् । ती देशमा नेपाल, अफगानिस्तान, आर्मिनिया, अजरबैजान, बंगलादेश, भुटान, बर्मा (म्यानमार), कम्बोडिया, इरान, इराक, जोर्डन, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मंगोलिया, पाकिस्तान, सिरिया, थाइल्यान्ड, उज्बेकिस्तान र यमन छन्।

आप्रवासी भिसा भनेको अमेरिकामा स्थायी बसोबास गर्ने प्रयोजनका लागि दिइने दीर्घकालीन भिसा हो । अमेरिकी विदेश मन्त्रालयले अब अमेरिका प्रवेशपछि सरकारी सहायता वा कल्याणकारी योजनामा निर्भर हुनसक्ने आशंका भएका व्यक्तिलाई भिसा अस्वीकार गर्न कानुनी अधिकार प्रयोग गरिने जनाएको छ।

अमेरिकी दूतावास र कन्सुलर अधिकारीलाई जाँच र प्रमाणीकरण प्रक्रिया पुनरावलोकन नभएसम्म भिसा आवेदन अस्वीकार गर्न निर्देशन दिइएको छ। यो स्थगन कति समयसम्म रहने भन्ने विषयमा भने जानकारी दिइएको छैन।

विदेश मन्त्रालयका अनुसार डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेयता अहिलेसम्म १ लाखभन्दा बढी भिसा रद्द भइसकेका छन्। यसैबीच, अमेरिकी गृह सुरक्षा विभागले गत महिना ६ लाख ५० हजारभन्दा बढी व्यक्तिलाई देश निकाला गरिएको र २५ लाख जना स्वेच्छाले अमेरिका छाडेको जनाएको छ।

आप्रवासी भिसा प्रक्रिया रोकिने अन्य मुलुकमा अफ्रिकी महादेशका अल्जेरिया, क्यामरुन, इजिप्ट, इथियोपिया, घाना, नाइजेरिया, सोमालिया, सुडान, युगान्डालगायतका देश छन्।

युरोपबाट रुस, अल्बानिया, बेलारुस, बोस्निया, जर्जिया, कोसोभो, उत्तरी म्यासेडोनिया, मोल्डोभा र मोन्टेनेग्रो परेका छन्। त्यस्तै, क्यारिबियनसहित उत्तरी अमेरिकाका बहामास, क्युबा, जमैका, हैटीलगायतका देश तथा दक्षिण र मध्य अमेरिकाका ब्राजिल, कोलम्बिया, उरुग्वे, ग्वाटेमाला र निकारागुआ पनि सूचीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0