काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि विभिन्न क्षेत्रमा रहेका ३८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त विवरण तथा स्थानीय तह, पर्यटक गाइड र सुरक्षा निकायसँगको समन्वयबाट संकलित तथ्यांकअनुसार झन्डै चार सय पर्यटकसँग सम्पर्क हुन नसकेको जनाएको हो।
सम्पर्कविहीनमध्ये २९१ जना विदेशी पर्यटक छन् भने ९३ जना नेपाली पर्यटक रहेको बोर्डले जनाएको छ। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएपछि उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको बताइएको छ। पर्यटकको अवस्था यकिन गर्न पर्यटन बोर्डले सम्बन्धित ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय निकाय तथा सुरक्षा निकायसँग समन्वय गरी विवरण संकलन गरेको जनाएको छ।
रसुवाका विभिन्न पर्यटकीय क्षेत्रमा बाढीको प्रभाव परेपछि त्यहाँ रहेका पर्यटकको उद्धार तथा अवस्थाबारे जानकारी लिन चुनौती देखिएको छ। सम्पर्कविहीन पर्यटकहरू कुन–कुन क्षेत्रमा रहेका छन् भन्ने विषयमा थप विवरण संकलन भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने कामलाई पनि प्राथमिकतामा राखिएको पर्यटन क्षेत्रका निकायहरूले जनाएका छन्।












