काठमाडौं । समाज कल्याण परिषद्ले भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सक्रिय हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थालाई आह्वान गरेको छ। परिषद्ले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीबाट प्रभावित नागरिकलाई तत्काल सहयोग आवश्यक रहेकाले सामाजिक संघसंस्थालाई राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो।

परिषद्का अनुसार प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेछ। त्यसैगरी गैरसरकारी संघसंस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी गतिविधिबारे समाज कल्याण परिषद्लाई समेत जानकारी गराउन परिषद्ले आग्रह गरेको छ।

बाढीका कारण प्रभावित जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र ठूलो संख्यामा नागरिकको दैनिक जीवन प्रभावित भएको भन्दै परिषद्ले उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ। विपद्को समयमा प्रभावित नागरिकसम्म आवश्यक सहायता शीघ्र पुर्‍याउन सामाजिक संघसंस्थाहरूलाई सक्रिय रूपमा परिचालन हुन परिषद्ले आग्रह गरेको छ। राहत वितरण तथा पुनर्स्थापनाका कार्यक्रम दोहोरिन नदिन र वास्तविक प्रभावितसम्म सहायता पुर्‍याउन सरकारी निकायसँग समन्वय गरेर काम गर्नसमेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0