२० साउन, काठमाडौं । दुई फरक मुद्दामा धरौटीमा रिहा भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाइ आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने तयारीमा रहेको छ।
प्रचलित कानुन र न्यायका मान्य सिद्धान्त विपरीत आदेश दिइएको ठहर गर्दै कार्यालयले उच्च अदालत पाटनको आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्ने तयारी थालेको हो। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार आदेशको अध्ययनका लागि उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
‘दुवै आदेश न्यायका मान्य सिद्धान्त र कानूनी व्यवस्थाविपरीत छन् भन्ने हाम्रो निष्कर्ष हो,’ प्रवक्ता पुडासैनीले भने, ‘यस्ता आदेशले विधिको शासन प्रवर्द्धन गर्दैनन् भन्ने निष्कर्षसहित हामी सर्वोच्च अदालतमा निवेदन लिएर जान लागेका हौं।’
मेडिकल व्यवसायी प्रसाईंलाई १५ चैतमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दा र एक बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो। अदालतले तोकेको धरौटी रकम बुझाएर उनी सोमबार डिल्लीबजार कारागार फर्किएका थिए। त्यसको करिब दुई घण्टापछि कारागार प्रशासनले कानुनी प्रक्रिया टुंग्याएर बेलुकी प्रसाईंलाई रिहा गरेको हो।












