शिवसताक्षी । रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकको मद्दतले एपिएफ फुटबल क्लबले झापाको दुधेमा सञ्चालित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको छ । सेमिफाइनलमा एपिएफले झापा–११ फुटबल क्लबको सामना गर्नेछ ।

खेलको २६ औँ मिनेटमा एपिएफले अग्रता लियो । एपिएफकी रश्मिकुमारी घिसिङले रेनुका नगरकोटीले गरेको प्रहारलाई कट ब्याक गर्दै पोस्टको दिशा दिइन् । ३० औँ मिनेटमा रश्मिले नै अग्रता दोब्बर बनाइन् । ४५ औँ मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै ह्याट्रिक पूरा गरिन् ।

५२ औँ मिनेटमा पेनाल्टीमार्फत रश्मिले चौथो गोल गरिन् । भुटानकी पुनम चेम्जोङले उनलाई डि–एरियामा फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । ५५ औँ मिनेटमा कुसुम खतिवडाको क्रस पासमा हेडमार्फत गोल गर्दै उनले गोल अन्तर फराकिलो पारिन् । ५९ औँ मिनेटमा कुसुम खतिवडासँग तालमेल गर्दै बल अगाडि बढाएर सोमबारको खेलमा दोहोरो ह्याट्रिक गरिन् । ६२ औँ मिनेटमा अनिता केसीले गोल गरिन् । रश्मिको पासमा केसीले गोल गरेकी थिइन् ।

खेल अवधिभर एपिएफ मैदानमा हाबी भयो । भुटानले भने विपक्षी पोस्टमा कुनै खतरा पैदा गर्न सकेन । धरानमा भर्खरै सम्पन्न धरान महिला गोल्डकपको विजेता टोली एपिएफले उपाधिका लागि यस मैदानमा बलियो दाबेदारी प्रस्तुत गरेको छ । एपिएफ गत संस्करणको उपविजेता पनि हो ।

खेलको प्लेयर अफ द म्याच विजेता एपिएफकी रश्मिकुमारी घिसिङ घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (मंगलबार) अन्तिम क्वार्टर फाइनल नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैंयाँ पुरस्कार पाउने छ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छ । त्यसैगरी उत्कृष्ट गोलकिपर, मिड फिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0