शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा रहेको श्री पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले आर्थिक वर्ष २०८२/०८३ को आयव्यय विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८३/०८४ का नीति तथा कार्यक्रम पारित गरेको हो।

साधारण सभामा संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको शेयर पुँजी ६० लाख ९५ हजार ३ सय ९९ रुपैयाँ रहेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा शेयर पुँजी ८० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको उहाँले बताउनुभयो। प्रतिकूल परिस्थितिमा पनि संस्था नाफामा रहेकाले सदस्य तथा बचतकर्ताले चिन्ता लिनुपर्ने अवस्था नरहेको अध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो।

संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा २ करोड ६२ लाख ३१ हजार ४ सय ५४ रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ करोड ५३ लाख ७५ हजार ६ सय १० रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

त्यस्तै, उक्त आर्थिक वर्षमा संस्थाले ३३ लाख २४ हजार ९ सय १२ रुपैयाँ आम्दानी गरेको छ भने २८ लाख ४९ हजार ७ सय ९४ रुपैयाँ खर्च गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।

साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनालले सहकारीप्रति आम नागरिकको विश्वास कमजोर हुँदै गएको अवस्थामा पारिजात बहुउद्देश्यीय सहकारीले सदस्यहरूको विश्वास जित्दै अघि बढ्नु प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सहकारी क्षेत्रप्रति विभिन्न धारणा र भ्रम फैलिएको समयमा संस्थाले उदाहरणीय रूपमा बचत संकलन र कर्जा लगानी गर्दै छोटो अवधिमा राम्रो प्रगति गरेको भन्दै सञ्चालक समिति तथा कर्मचारीलाई धन्यवाद दिनुभयो।

साधारण सभाका अवसरमा संस्थामा विभिन्न समयमा योगदान पुर्‍याउने हेमकुमार राई, पम्फाकुमारी श्रेष्ठ, सविन चापागाईं, रेम आले मगर, नुयन राई र लिलाकुमार जोगीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ११ का वडासदस्य पर्शुराम अधिकारी, किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिशंकर शिलवाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। संस्थाका सदस्य एलिना राईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवराज राईले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0